लीलाधर वली
घोराही, फागुन २६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङमा समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणनापछि सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार दाङमा एक लाखभन्दा बढी मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बन्दा ४१ हजार बढी मत प्राप्त गरेर नेपाली कांग्रेस दोस्रो बनेको छ ।
जिल्लामा समानुपातिकतर्फ गणना भएको दुई लाख ४३ हजार ७९ मतमध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गर्दै पहिलो बनेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका सूचना अधिकारी गेहेन्द्र गेहेन्द्र कँवर का अनुसार रास्वपाले दाङ निर्वाचन क्षेत्र नं. १ मा समानुपातिकतर्फ गणना भएको ७७ हजार दुई सय ८४ मतमध्ये ४३ हजार आठ सय ४४, क्षेत्र नं. २ मा गणना भएको ८० हजार ८२ मतमध्ये ४२ हजार छ सय ५८ र क्षेत्र नं. ३ मा गणना भएको ८५ हजार सात सय १३ मतमध्ये ४४ हजार चार सय ९९ मत प्राप्त गर्दै जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरका नेपाली कांग्रेसले ४१ हजार चार सय ४८ मत प्राप्त गर्दै जिल्लामा दोश्रो पार्टी बनेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले क्षेत्र नं. १ मा १४ हजार तीन सय ५५ मत, क्षेत्र नं. २ मा ११ हजार तीन सय ६९ मत र क्षेत्र नं. ३ मा १५ हजार सात सय २४ मत प्राप्त गरेको हो । जिल्लामा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ ३३ हजार तीन सय ५५ मत प्राप्त गरेको छ । जसअन्तर्गत क्षेत्र नं. १ मा छ हजार नौ सय ८४ मत, क्षेत्र नं. २ मा १३ हजार नौ सय २६ मत र क्षेत्र नं. ३ मा १२ हजार चार सय ४५ मत प्राप्त गरेको छ ।
चैथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन क्षेत्र नं. १ मा पाँच हजार पाँच सय ३७, क्षेत्र नं. २ मा सात हजार दुई सय ६८ मत र क्षेत्र नं. ३ मा आठ हजार दुई सय ५६ मत गरी जम्मा २१ हजार ६१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले क्षेत्र नं. १ मा एक हजार नौ सय सात, क्षेत्र नं. २ मा एक हजार सात सय ५६ मत र क्षेत्र नं. ३ मा दुई हजार दुई सय २८ गरी जम्मा जिल्लामा पाँच हजार आठ सय ९१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी, श्रम संस्कृति पार्टीले क्षेत्र नं. १ मा सात सय आठ, क्षेत्र नं. २ मा आठ सय ७१ र क्षेत्र नं. ३ मा चार सय ७७ गरेर जिल्लामा दुई हजार ५६ मत, राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा एक हजार एक सय ९२, क्षेत्र नं. २ मा दुई सय ५३ र क्षेत्र नं. ३ मा एक सय ७८ गरेर एक हजार छ सय २३ मत, नेकपा (माओवादी)ले क्षेत्र नं. १ मा सात सय आठ, क्षेत्र नं. २ मा तीन सय चार र क्षेत्र नं. ३ मा तीन सय ९७ मत गरेर एक हजार चार सय नौ मत प्राप्त गरेको छ ।