• ८ मंसिर २०८१, शनिबार

समाचार प्रभाव

घट्यो सुपथ पसलमा मूल्य

blog

काठमाडौँ, असोज ५ गते  । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलमा बजारभन्दा महँगो भनिएको खानेतेल, दाल, मैदालगायतका वस्तुको मूल्य मङ्गलबारदेखि घटाएको छ । सरकारबाट अनुदान लिएर सञ्चालन गरेका पसलमा केही वस्तुको मूल्य बजारमाभन्दा महँगो भएको समाचार गोरखापत्रले प्रकाशित गरेको थियो । कम्पनीका अनुसार सनफ्लावर तेल प्रतिलिटर २९५ बाट १० रुपियाँ घटाएर २८५ रुपियाँ बनाएको छ । जबकि बजारमा उक्त तेलको मूल्य २९० रुपियाँमा कारोबार भएको छ । 

यस्तै मैदा प्रतिकेजी ८४ रुपियाँबाट चार रुपियाँ घटाएर प्रतिकेजी ८० रुपियाँमा बनाएको छ । खुला बजारमा पनि मैदा प्रतिकेजी मूल्य पनि ८० रुपियाँमा किनबेच भइरहेको छ । यसैगरी चिउरा बजारमा प्रतिकेजी ७५ रुपियाँ पाइने गरेकोमा खाद्य कम्पनीमा ७८ र साल्ट टे«डिङमा ८० रुपियाँ रहेको छ । 

सरकारले सञ्चालनमा ल्याएका ती सुपथ मूल्य पसलमा सनफ्लावर तेलमा प्रतिलिटरमा पाँच रुपियाँ र मैदा प्रतिकेजीमा चार रुपियाँ बजारमा भन्दा महँगो थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनी नोक्सानमै गएर भए पनि बजारमा पाइने मूल्यभन्दा सस्तो हुने गरी वस्तुको मूल्य घटाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “डेढ महिनाअघि टेन्डर आह्वान गरेर खरिद गर्दा प्रतिलिटर ३०२ रुपियाँ परेकाले अहिले सनफ्लावर तेलमा प्रतिलिटर सात रुपियाँ छुट गर्दा पनि बजारको भन्दा केही महँगो भयो, नोक्सान भए पनि बजारमा भन्दा सस्तोमा पाइने गरी मूल्य घटाएका छौँ ।” 

उहाँका अनुसार आजदेखि मूल्य घटेका वस्तु र मूल्य क्रमशः सनफ्लावर तेल प्रतिलिटर १० घटेर २८५ रुपियाँ, भटमास तेल प्रतिलटर सात रुपियाँ घटाएर २४० रुपियाँ, मैदामा प्रतिकेजी चार रुपियाँ घटाएर ८० रुपियाँ, मुसुरोका दाल प्रतिकेजीमा आठ रुपियाँ घटाएर १४५ 

रुपियाँ छ । तर मास र रहर दालको मूल्य भने बढाएको छ । मासको दाल प्रतिकेजी १४८ रुपियाँबाट बढाएर प्रतिकेजी १५५ रुपियाँ पु-याइएको छ । 

यस्तै रहर दाल प्रतिकेजी १६८ रुपियाँबाट बढाएर १७० रुपियाँ पु-याइएको छ । अन्य सामानको मूल्य भने यथावत् रहेको छ । खाद्य कम्पनीले दाल, चामल, चिउरा, कर्णालीको सिमी, तेललगायत २४ प्रकारका खाद्यवस्तुमा प्रतिकेजी र प्रतिलिटरमा सात रुपियाँदेखि १० रुपियाँसम्म छुुट दिएको छ । क्वाँटी, कर्णालीको सिमी र जिउँदो खसी र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुुट दिइएको छ भने मोटा, मध्यम, मसिना गरी नौ प्रकारका चामल, दलहन, तेल, गेडागुुडी, आँटामा पनि छुट रहेको उहाँले जानकारी दिनुभयो । खाद्य कम्पनीले उपत्यकाका चार स्थानसहित ४५ स्थानबाट ती छुटका खाद्यान्न बिक्री गरिरहेको छ ।