• १३ साउन २०८१, आइतबार

श्रममन्त्री कुँवरद्वारा पहिरो प्रभावित क्षेत्रको निरीक्षण

blog

पहिरोबाट मृत्यु भएका आफन्तलाई भेटघाट तथा रकम हस्तान्तरण गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर । तस्बिर सौजन्य : देवेन्द्र बुढा

शिवराज ढुंगाना 

अछाम, असोज २ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका –५ नाडा, कमलबजार नगरपालिका –६ वीरपथ र वडा ८ डुँगालाका मृतक र घाइतेका आफन्त घटनास्थलमै पुगेर निरीक्षण गर्नुभयो ।  

निरीक्षणका क्रममा मृतकका परिवारलाई मन्त्री कुँवरले प्रतिव्यक्ति १० हजार रुपियाँ समेत आफन्तलाई प्रदान गर्नुभयो । यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका आफन्तलाई प्रतिपरिवार एक लाख रुपियाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो । मन्त्री कुँवरले पहिरोबाट पीडित क्षेत्रका बासिन्दाका लागि आवश्यक त्रिपाल, कम्बल समेत वितरण गरिएको छ । पीडित पक्षसँगको भेटका क्रममा मन्त्री कुँवरले सरकारले खाद्यान्न लगायत अन्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।   

मन्त्री कुँवरसँगै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीसहितको टोलीले पहिरोमा पुरिएर मृत्यु भएका स्थानको निरीक्षण गर्नुभयो । गत शुक्रबार राति घरमाथिबाट आएको पहिरोमा परेर अछामका तीन स्थानीय तहका चार स्थानमा घर भत्किँदा २२ जनाको मृत्यु भएको थियो । 

तुर्माखाँद गाउँपालिका –५ नाडामा दुई घरका नौ जना, कमलबजार नगरपालिका –६ वीरपथमा सात जना र वडा नम्बर ८ डुँगालामा पाँच जनाको घरभित्रै पुरिएर मृत्यु भएको थियो । 

परिवार सारिए 

पहिरोले नौ जनाको ज्यान लिएको तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका २० घरपरिवार विस्थापित भएका छन् । पहिरो आएर घर पुरिने डरले आधा घण्टा दूरीमा रहेको कालिकेश्वरी माविमा २० घरका सदस्यहरूलाई सारिएको स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो । 

पहिरोको जोखिममा रहेको परिवारलाई सारिएर खाद्यान्न लगायतका सामग्रीको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय, अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो । पीडित क्षेत्रमा स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाले समेत सहयोग गरिरहेका छन् ।