• १६ भदौ २०८१, आइतबार

‘जनतासँग नेपाली कांग्रेस’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २ गते । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक सङ्घले कांग्रेसको चुनावगीत ‘मङ्सिर ४...’ निर्माण गरेको छ। शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा एक कार्यक्रमबीच प्रमुख अतिथि खानेपानीमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले गीत सार्वजनिक गर्नुभएको हो। 

कार्यक्रममा मन्त्री चौधरीले मङ्सिर ४ को निर्वाचनलाई लक्षित गर्दै नेपाली सांस्कृतिक सङ्घले जुन गीत ल्याएको छ, त्यसले नेपाली कांग्रेसलाई जिताउन र जनतामा भिजाउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो। “हरेक जनताले कांग्रेसको सन्देश बुझ्ने गरेर गीत निर्माण भएको छ। यो गीत मैले विमोचन गर्न पाएँ। मेरो लागि योभन्दा ठूलो खुसीको विषय अन्य के होला,” मन्त्री चौधरीले थप्नुभयो। 

कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सांस्कृतिक सङ्घले मङ्सिर ४ को निर्वाचनका लागि भनेर तयार गरेको गीतमा सबै नेपालीको भावना र मर्म समेटिएको बताउनुभयो। 

नेपाल सांस्कृतिक सङ्घका सभापति तीर्थ थापाको सभापतित्वमा आयोजना भएको कार्यक्रममा धर्मराज पोखरेल, शिवशङ्कर रिजाललगायतको उपस्थिति रहेको थियो। ‘जनतासँग नेपाली कांग्रेस...’ बोलको गीतमा राधिका हमाल, शशिविक्रम थापा, गोविन्द मधुर आचार्य, स्मृति शाही विपिन घिमिरेको आवाज रहेको छ भने लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको सङ्गीत छ।