• ११ असोज २०८१, शुक्रबार

लगानी अभावले जीपलाइन योजना अलपत्र

blog

साँगुरी गढी गाउँपालिका वडा नं. ६ खर्क डाँडामा लगानी अभावले अलपत्र परेको जीपलाइन योजना । तस्बिर: कविराज घिमिरे

हिले, असोज २ गते । पूर्वको पर्यटकीय स्थल भेडेटारमा निर्माणाधीन जीपलाइन योजना लगानी अभावले अलपत्र परेको छ । भेडेटारका होटेल व्यवसायी आशिष् राई र किरण राईले संयुक्त रूपमा निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको उक्त जीपलाइन वित्तीय संस्थाहरूबाट लगानी नजुट्दा अलपत्र परेको हो ।

कोभिडपछि वित्तीय संस्थाहरूले ऋण प्रवाहमा कडाइ र ब्याजदरको प्रतिशत बढाउँदा लगानीमा परेको असरको यो एउटा उदाहरण बनेको छ । ऋण प्रवाहमा कडाइ र ब्याजदरको प्रतिशत बढाउँदा निर्माणाधीन जीपलाइनको योजना अलपत्र परेको लगानीकर्ता आशिष् राईले बताउनुहुन्छ । वित्तीय संस्थासँग समन्वय गर्दा ठुलो लगानी गर्न सक्ने अवस्था नरहेको जानकारी प्राप्त हुन्छ । तर पनि अन्य स्रोत जुटाएर भए पनि निर्माणको तयारीमा रहेको उहाँको भनाई छ ।

भेडेटार एड्भेञ्चर प्राविमार्फत जीपलाइन निर्माणको काम २०७६ साल देखि निर्माण सुरु भएको थियो । भेडेटार बजार नजिकै रहेको खर्क डाँडाबाट सुरु भई कार्की छापमा ल्यान्डिङ हुने जीपलाइनको कुल लम्बाई एक हजार पाँच सय मिटर रहेको थियो । उक्त जीप लाइन सञ्चालनमा आएपछि नेपालकै दोस्रो लामो जीपलाइन हुने लगानीकर्ताको दाबी छ  । नेपालको सबै भन्दा लामो जीपलाइन पोखराको सराङकोटदेखि हेम्जासम्म एक हजार ८ सय ५० मिटर दुरीको छ । भने पर्वतको कुश्मामा एक हजार ४ सय ८० मिटर लम्बाइको जीपलाइन सञ्चालनमा छ ।

भेडेटारमा निर्माणाधीन जीपलाइनका लागि खर्क डाँडामा टेकअफ र कार्की छापमा ल्यान्डिङ स्टेसनमा टावर निर्माण हुनेछन् । त्यस्तै बिचमा केवल तार बिछ्याइन्छ । ग्राउन्ड लेभलसम्मको संरचना निर्माणमा पाँच करोडभन्दा बढी लगानी भइसकेको छ । हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको अर्का सञ्चालक किरण राईले बताउनु हुन्छ । कुल लगानीमध्ये २० प्रतिशत सेयर पब्लिकलाई वितरण गरिएको छ । बाँकी ८० प्रतिशतमध्ये ४० प्रतिशत किरण राई र ४० प्रतिशत आशिष् राईको लगानी छ । यी दुवै जना होटेल व्यवसायी हुन् । 

भेडेटार घुम्न आउने पर्यटकलाई मध्यनजर गरी जीपलाइन सञ्चालनमा ल्याउने तयारी गरिएको हो । प्राकृतिक सुन्दरताले भरिएको भेडेटार साहसिक पर्यटनको नयाँ तथा आकर्षण गन्तव्य बन्ने उहाँहरुको दावी छ ।

तर लगानी नहुँदा निर्माणको चरणमा काम रोकिएको हो । डाँडा खर्कको करिब ८ रोपनी क्षेत्रफलको जग्गामा वेश लाइन धमाधम निर्माण भइरहेको थियो । तर कोभिड पछिको आर्थिक मन्दीको प्रत्यक्ष असरको कारण काम ठप्प छ । जीपलाइनको पिलर देखि थप संरचना निर्माणका लागि ६ करोड रुपैयाँ लगानी आवश्यक हुने बताइएको छ ।

भेडेटार साहसिक खेलका लागि प्रचुर सम्भावना भएको साँगुरी गढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनु हुन्छ । भेडेटार क्षेत्रमा लगानी गर्न निजी क्षेत्रका व्यवसायीको उत्साहित छन् । तर अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिहरूले कानुन तथा नीति बनाउन नसक्दा निजीलाई प्रोत्साहन गर्न सकिएन । अव गाउँपालिकाले निजी लगानीमैत्री नीति तथा कानुन बनाएर ठुला योजनालाई प्रोत्साहित गर्छ । साहसिक खेल जीपलाइनले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउने उहाँको भनाई छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।