• १९ पुस २०८१, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई

blog

नर्वौं राष्ट्रिय खेलकुदमा क्रिकेटको स्वर्ण विजेता पुलिस क्लब । तस्बिर : राखेप

काठमाडौं, असोज १ गते । नवौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले हासिल गरेको छ । राष्ट्रिय खेलकुद  अन्तर्गत शुक्रबार भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई आठ विकेटले हराउँदै पुलिसले स्वर्ण जितेको हो ।

वर्षाका कारण आठ ओभरमा छोट्याएइको प्रतियोगितामा आर्मीले दिएको एक सय चार रनको लक्ष पुलिसले दुई विकेटको क्षतिमा साल बल बाँकी छँदा भेट्टाएको थियो । पुलिसले ६.५ ओभरमा एक सय पाँच बनाएको हो । 

पुलिसका लागि ‘म्यान अफ दि म्याच’ कुशल भुर्तेलले ५१ रन बनाउनुभयो । उहाँले १९ बलमा तीन चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । 

सुनिल धमलाले ४२, आरिफ सेखले अविजित ६ र दीपेन्द्र सिंह एैरीले चार रन बनाउनुभयो । बलिङमा सेनाका जितेन्द्र मुखिया र सुसन भारीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको आर्मीले निर्धारित आठ ओरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

आर्मीका लागि विनोद भण्डारीले ४० रन बनाउनुभयो । रोहित पौडेलले२८ रन, कुशल मल्लले १३ रन र भिम सार्कीले ११ रन जोड्नुभयो । बलिङमा पुलिसका गुलशन झा र ललित राजवंशीले दुई दुई तथा रशिद खान र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

उपविजेता आर्मीले रजत पदक जित्यो । कांस्य पदकका लागि सुदूरपश्चिम प्रदेश र एनआरएनएबीचको खेल वर्षाका कारण हुन नसकेपछि टसबाट निर्णय गरिएको थियो ।जसमा सुदूरपश्चिमले टस जित्दै कांस्य पदक प्राप्त गरेको छ ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कार प्रदान गर्नुभयो । नवौँ अन्तर्गत क्रिकेटमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता रहेको थियो ।

वर्षाका कारण अधिकांश खेल भने हुन सकेन । जसले गर्दा उपाधिका दाबेदार बागमती प्रदेश र एपीएफ क्लब समूह चरणका खेल नै खेल्न नपाई बाहिरिन बाध्य बनेका थिए ।