• ७ मंसिर २०८१, शुक्रबार

प्रतिस्पर्धा (कविता)

blog

हिमालका कापहरूबाट बगेका छर्राहरू

तिमीमा आएर ठोक्किँदा

मन चसक्क हुन्छ

चट्टानका ठोकरहरू अनि

तिमीभित्रका ज्वालाहरू

उस्ताउस्तै लाग्छन् मलाई ।


अडिएको पाइला अनि मातिएको तिमी

बाघझैँ झम्टिँदै छन्

बिरालाको चाल गरी

प्रत्येक पलमा ठूलो अजिङ्गर हौ तिमी

अनि म तिम्रो गाँस नै नपुग्ने भुसुना

तिम्रा ती यथार्थका धरहराहरूलाई

मेरो सपनाको घण्टाघरले चुम्न सक्दैन 

पहाडमा बजारिएका पानीका फोहराहरू

अनि मनभित्र बजारिएका मेरा भावनाका

छालहरू

तिमीभित्रै अनि तिमीसितै

बाँधिएका मायाका डोरीहरू

जति कसे पनि खुकुलिँदै गएका सम्बन्धहरू

चिसो चुलो, चिसो मन अनि चिस्सिएको आँगन

तिमीसँग प्रतिस्पर्धाको घेरामा हारेँ म ।