मानव जीवनको उद्देश्य भनेकै खुसी हुनु हो । खुसीबिना मानिस बाँच्नै सक्दैन । मानिस जिउनु पनि खुसीकै लागि हो या ज्यादा खुसीका लागि हो । केही नवीन नभई हरेक कुरा उस्तै हुने भए मानिसलाई जिउनुको लालसा हुँदैनथ्यो । खुसीका बारेमा लेखिएका प्राचीन ग्रिकको युडामिनिक्सदेखि अहिलेसम्म हजारौँ किताब होलान् तर खुसीको व्याख्यान गर्दा सबैले मानिस भएर जन्मन पाउनु नै सबैभन्दा ठूलो खुसी हो भनेका छन् ।
मानिसको जीवनमा अनेक घटना घट्छन् । अहिलेको कोभिड महामारी पनि मानव जीवनको एक घटना हो र जति त्रासदीपूर्ण भए पनि मानिसले खुसी नै खोज्नुपर्छ । मनोविज्ञानअनुसार एक मिनेट रिसाउँदा, दुःख जाहेर गर्दा या निराशावादी असन्तोष प्रकट गर्दा मानिसको आयु, जो सुखभोग गर्नका लागि हो, घट्ने गर्छ । ज्यादा रिसाहा मानिस कम बाँच्छ, जीवनप्रति सकारात्मक व्यक्तिहरू नै धेरै बाँच्छन् । यसकारण महामारी भनेर डराएर निराश बनेर बाँच्न हुँदैन र खुसी हुने प्रयास गर्नुपर्छ । यसका साथै समाजवाद, पुँजीवाद, औद्योगीकरणजस्ता विषयले खुसीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आदर, सत्कार, महिमा, सेवा, प्राप्ति र स्वतन्त्रताका साथसाथै धनसम्पत्ति पनि खुसीका लागि आवश्यक हुन्छ तर मानिसलाई साँचो अर्थको खुसी चाहिँ निर्जीव वस्तुबाट नभई जीवित, त्यो पनि आफ्नै विचार र आफ्नै मानिसको साथबाट मात्र प्राप्त हुन्छ भन्ने निष्कर्ष धेरै अध्ययन अनुसन्धानको छ ।
खुसी के हो भन्नेबारेमा विकासवादी जीववैज्ञानिकले एक समकालीन व्याख्या प्रस्तुत गरेका छन् । उनीहरूका अनुसार हाम्रो अपेक्षा र खुसी राजनीतिक, सामाजिक र सांस्कृतिक कारणबाट मात्र निर्धारित हुँदैन । पदोन्नति हुँदैमा, नेता बन्दैमा, धन कमाउँदैमा साथै सच्चा प्रेम पाउँदासमेत मानिस खुसी हुन सक्दैन भन्ने मान्यता वैज्ञानिकको छ । मानिस एउटा चिजबाट मात्र खुसी हुन्छन् र त्यो हो– उनीहरूको शरीरमा उत्पन्न हुने सुखद अनुभूति; जुन शरीरमा विभिन्न रासायनिक प्रतिक्रियापछि प्राप्त हुने गर्छ ।
एउटा व्यक्ति जो भर्खर पदोन्नति भएको छ, ऊ खुसीले उफ्रन्छ तर वास्तवमा उसले खुसीको खबर पाएको प्रतिक्रिया जनाएको नभई रक्त प्रवाहको माध्यमबाट आउने विभिन्न हर्मोन र मस्तिष्कको विभिन्न हिस्साको बीच चम्किने विद्युत् सङ्केतको तेज प्रवाहको प्रतिक्रिया हो । जीववैज्ञानिकका अनुसार मानिसको संवेदना भनेको रगत सँगसँगै जताततै चलेको विभिन्न जैव रासायनिक पदार्थ (सेरोटोनिन, डोपामाइन, अक्सिटोसिन)को प्रतिक्रिया हो; जसको कारणले मानिसको मस्तिष्कमा उत्पन्न हुने जटिल विद्युतीय सङ्केतले मानिसलाई उत्तेजित बनाइदिन्छ र त्यसैलाई खुसी भन्ने गरिएको छ । जीव विज्ञानका अनुसार खुसी शरीरको एक सामान्य प्रक्रिया हो ।
खुसीलाई मनोवैज्ञानिकले चाहिँ व्यक्तिपरक कल्याण भनेर परिभाषित गरेका छन् । व्यक्तिपरक कल्याण भन्नाले भावनात्मक कल्याणको एक स्थिति; जहाँ व्यक्ति वर्तमानमा आफ्नो जीवनको सम्पूर्ण भावना र क्रियाकलापमा केन्द्रित गर्छ र कुनै एक विशिष्ट क्षणमा जब मानिसले आफूले सोचेको कुरा प्राप्त ग¥यो भने मानिस खुसी हुन्छ भन्ने गरिएको छ । हरेक व्यक्ति आफ्नो जीवनकालमा सकारात्मक र नकारात्मक भावनाको अनुभव गर्छ । मनोवैज्ञानिक मास्लोका अनुसार खुसी नकारात्मक भावनाको तुलनामा सकारात्मक भावनाको अनुभवबाट प्राप्त हुन्छ । यसका साथै जीवनप्रति सन्तुष्ट व्यक्ति खुसी हुन्छ भनिएको छ । बन्धुबान्धवसँगको सम्बन्ध कति सौहार्दपूर्ण छ, काम र उपलब्धि सन्तोषजनक छन् कि छैनन् र जसलाई महìव दिइएको छ, त्यो काम पूरा भएको छ कि छैन आदि कारणले खुसी प्राप्त हुन्छ ।
दार्शनिकले खुसीलाई जीवनको नैतिक लक्ष्यको अवसरका रूपमा लिने गरेका छन् भने केही मानिस खुसीलाई भाग्यको पर्यायका रूपमा पनि लिने गर्छन् ।
केही मानिस जन्मँदै खुसीको उच्च आधार रेखा लिएर जन्मिएका हुन्छन् । दुई हजारभन्दा बढी जुम्ल्याहा मानिसमा गरिएको अध्ययनअनुसार ५० प्रतिशत खुसी आनुवंशिक अर्थात् जन्मजात प्राप्त हुन्छ । वातावरणको प्रभावले १० प्रतिशत र बाँकी ४० प्रतिशत खुसी मानिसको आफ्नै क्रियाकलापका कारणले हुन्छ । आनुवंशिक खुसी भनेको शरीर संरचनामा जन्मँदै हुने शारीरिक र मानसिक सन्तुलन तथा आनुवंशिक दुःख भनेको असन्तुलनजस्तै रोग आदि भन्ने बुझ्नुपर्छ; जसलाई जन्मको आधार स्तम्भ पनि भनिन्छ । मानिसलाई असन्तुलित आधार स्तम्भमाथिको नियन्त्रण पाउन सहज हुँदैन तर आफ्नो क्षमतामा भएको विषय चाहिँ परिवर्तन गर्न सकिन्छ र आफ्नो जीवनलाई खुसी र पूर्ण बनाउन सकिन्छ । यहाँसम्म कि धेरै धनी, सफल र सुखी देखिने व्यक्ति पनि समय–समयमा कमजोर महसुस गर्न सक्छन् । यसकारण खुसी यस्तो चिज हो, जसलाई सबै मानिसले सचेत रूपले अनुसरण गर्न सक्छन् ।
भौतिक सुखसुविधाभन्दा पनि बढी सामान्य आन्तरिक लक्ष्य बनाउनाले खुसी प्राप्त हुन्छ । मानिसको जीवनको त्यस्तो लक्ष्य होस्; जुन लक्ष्य प्राप्त गर्नका लागि मानिस भित्रैबाट अत्यन्त निष्ठाभावले समर्पित भएको होस् । मनभित्रैबाट प्रेरणा होस् । आन्तरिक रूपमा नै प्रतिबद्ध भएर गरिएको समाज कल्याणको लक्ष्य प्राप्त गरेपछि मानिसलाई सुखको अनुभूति हुन्छ भन्ने निष्कर्ष विभिन्न अध्ययनको छ । यसैले जीवनक्रममा आन्तरिक लक्ष्य अति आवश्यक हुन्छ । आन्तरिक लक्ष्य कुनै ठूलो विषय हुन जरुरी छैन र अरूको भलाइका लागि आफूले गरेको अति ससाना कामले पनि व्यक्तिको मन प्रफुल्ल हुन्छ ।
सामाजिक समर्थन खुसीको एक अर्को अनिवार्य हिस्सा हो । रगत या सम्बन्धको आधारमा मानिस जोसँग नजिक हुन्छ, उनीहरूसँग सकारात्मक र सहायक सम्बन्ध बनाउँदा तनावबाट मुक्ति मिल्छ, स्वास्थ्य बिग्रन पाउँदैन र मानिसलाई एक सुखी व्यक्ति बन्न सहायक हुन्छ तर सामाजिक समर्थन सङ्ख्यामा भन्दा गुणवत्तामा हुन जरुरी छ । प्रशस्त आकस्मिक परिचित हुनुभन्दा एकदम प्रिय र भरोसायुक्त केही मानिसको प्रभावले समग्र खुसीमा अधिक प्रभाव पार्छ ।
हार्वड युनिभर्सिटीले ८० वर्षभन्दा माथिको व्यक्तिमा गरेको ‘स्टडी अफ एडल्ट डेभलपमेन्ट’ प्रतिवेदनअनुसार आफ्नोे सम्बन्धसँग सन्तुष्ट भएका मानिस अधिक खुसी भएको देखियो र उनीहरूको स्वास्थ्य स्थिति अत्यन्त राम्रो अवस्थामा रहेको थियो भने आफन्तसँग मनमुटाव भएका मानिसको मानसिक र शारीरिक स्थिति ज्यादै कमजोर देखियो ।
वैज्ञानिकका अनुसार व्यायाम पनि खुसी हुनका लागि ज्यादै महìवपूर्ण छ । शारीरिक गतिविधिसँग मनोवैज्ञानिक लाभका शृङ्खला जोडिएका हुन्छन् । नियमित व्यायामले उदासीकोे लक्षण हटाउन मद्दत गर्छ र मानिसलाई खुसी बनाउँछ । खुसीका बारेमा अमेरिकामा गरिएको अर्को एउटा परीक्षणमा प्रत्येक रात सुत्नुअघि १० देखि २० मिनेटका लागि एउटा लेखन अभ्यासमा मानिसलाई सामेल गराइयो । केही मानिसलाई दैनिक असुविधा या हैरानीका बारेमा लेख्न लगाइयो, केहीलाई तटस्थ भएर लेख्न लगाइयो भने केहीलाई त्यस्तो विषयका बारेमा लेख्न लगाइयो; जसका लागि उनीहरू अरूहरूसँग कृतज्ञ छन् । परिणाममा जसले कृतज्ञताका बारेमा लेखे र अरूप्रति आभार व्यक्त गरेको सकारात्मक प्रतिक्रिया दिए, तिनीहरूमा सकारात्मक भावनामा वृद्धि भयो र व्यक्तिपरक खुसी पनि वृद्धि भयो ।
यसका साथै अनुभव प्राप्त गर्न पैसा खर्च गर्दा पनि खुसी प्राप्त हुन सक्छ । यस्तो अनुभव यात्राका लागि हुन सक्छ । यस्तै कुनै साहसिक कार्यलगायत सकारात्मक वस्तुको खरिदले मानिसलाई आनन्द दिन्छ । अध्ययनअनुसार समय किन्नका लागि पैसा खर्च गर्नु अर्थात् त्यस्ता वस्तु जसले समय बचाउँछ र आफूले खोजेजस्तो सेवा दिन्छ भने त्यस्ता वस्तुले मानिसलाई खुसी तुल्याउँछ । पाँच सयभन्दा बढी गृहिणीमा गरिएको अनुसन्धानमा समय बचाउनुका साथसाथ सुविधा प्रदान गर्ने घरायसी सामग्रीको प्रयोगले गृहिणीलाई अत्यधिक खुसी बनाएको निष्कर्ष निकालिएको छ । धन, हैसियत, भौतिक सम्पत्तिलाई सङ्ग्रहित गर्न अधिक महìव दिनुको सट्टा सुविधा उपभोग गर्ने साधन प्राप्त ग¥यो भने मानिसले उच्च प्रकारको खुसी पाउँछ । यसका साथै समयलाई उचित तरिकाले प्रयोग गर्ने मानिस खाली समयबिना काम नगरी बस्नेभन्दा बढी खुसी हुन्छन् । केही नगरी बसेको समयलाई मानिसको सबैभन्दा दुःखको क्षण भनिएको छ । यसकारण हरेक मानिसले सुखी हुन समयलाई उपयोग गर्न जान्नैपर्छ ।
समग्रमा खुसीलाई कुनै एक विषयमा सीमित गर्न हुँदैन किनभने मानिसले कुनै एक उद्देश्य प्राप्त गर्दैमा ऊ सधैँ खुसी हुँदैन । मानव जीवनमा खुसी निरन्तर खोज हो; जसका लागि निरन्तर सक्रियता चाहिन्छ । शोधअनुसार जो मानिस जीवनमा खुसीलाई सर्वोत्तम महìव दिन्छन्, तिनीहरू नै जीवनभर सन्तुष्ट भएर बाँचेका हुन्छन् । खुसी ससाना कुराबाट पनि प्राप्त हुन्छ तर मानिस जानी नजानी खुसीलाई सम्पन्नताको साथसाथै ज्यादै ठूलो अभिलाषा, आकाङ्क्षा बनाउँछन्; जसले खुसी यति ठूलो लक्ष्य बन्न पुग्छ कि लगभग खुसी मानव जीवनमा अप्राप्य हुन्छ । यसैले केही लेखकले खुसीलाई आत्मपराजयसमेत भनेका छन् किनभने जब मानिस ठूला ठूला कुरालाई नै खुसीका मानक बनाएर कार्य गर्छन्, त्यति नै अधिक उनीहरू निराश हुन पुग्छन् । ठूलो उद्देश्य लिनु एक विषय हो तर त्यसैलाई सम्पूर्ण खुसीको मानक बनाउनु चाहिँ फरक विषय हो ।
समग्रमा खुसीलाई कनै तर्कवाद विवादभन्दा पनि व्यक्ति स्वयंले खुसी कसरी परिभाषित गर्छ, त्यो महìवपूर्ण हुन्छ । खुसी एउटा व्यापक शब्द हो; जसको अर्थ फरक फरक मानिसका लागि फरक फरक हुन सक्छ । यसकारण खुसीलाई जीवनको एक अन्तिम बिन्दु बनाउनुको सट्टा मेरा लागि वास्तविक खुसी के हुन सक्छ भनेर सोच्नु महìवपूर्ण हुन्छ । यसकारण कुनै ठूलो लक्ष्यलाई मानक बनाउनुभन्दा सानो सानो कुरामा विचार गर्नाले मानिसलाई खुसी बन्न मद्दत पुग्छ ।
पूर्वीय दर्शनमा पनि महर्षिहरूले खुसी हुन अनेक उपाय सुझाएका छन् । उनीहरू आफैँ ज्यादै खुसी थिए । आधुनिक मानवभन्दा उनीहरू अत्यधिक संवेदनशील थिए । उनीहरू हर प्रकारको ध्वनि, स्वाद र गन्धलाई चिन्न सक्थे । उनीहरूको अस्तित्व नै यसैमा निर्भर थियो । घाँसमा भएको सामान्य हलचलका कारणबाट त्यहाँ सर्प लुकेको छ या अन्य जीव पत्ता लगाउन सक्थे । कुनै वनस्पतिको पातको बनावटका आधारमा पन्छी कहाँ बसेको छ र यसको नजिक कुन फुल (ससाना जीव) छ भन्ने निक्र्योल उनीहरू निकाल्थे । कुनै प्राकृतिक या मानवनिर्मित विपत् आउँदै छ कि छैन भन्ने कुरा पवनको गन्ध सुँघेर पत्ता लगाउथे । कहाँ कसरी बस्ने, कसरी हिँड्ने, कसरी दौडने उनीहरूले शरीरको विविध र निरन्तर उपयोग गरेर प्रकृतिको सान्निध्यमा शारीरिक निपुणता प्राप्त गरेका थिए; जसले गर्दा उनीहरूमा रोग, शोकको भय थिएन । भयरहित वातावरणमा जिउनु नै खुसी हो भनेर पूर्वीय दर्शनमा भनिएको छ । यसका साथै खुसी एक निरन्तर खोज हो र पूर्वीय दर्शनमा महर्षिहरूले निरन्तर ज्ञानको खोज नै खुसीको आधार हो भनेर भनेका छन् ।
अहिले मनोविज्ञानमा पनि खुसी केन्द्रीय अध्ययनको विषय बनेको छ । मनोवैज्ञानिकले मानिसमा कसरी सकारात्मक भावना बढाउन सकिन्छ भनेर विभिन्न अध्ययन अनुसन्धान गर्ने गरेका छन् । सकारात्मकता बढाउने तरिका र मानिसलाई अधिक खुसी र सन्तोषजनक जीवन प्रदान गर्ने केन्द्रहरूसमेत खुलेका छन् । मनोवैज्ञानिकका अनुसार सकारात्मक सोच भयो भने खुसी प्राप्त हुन्छ र सकारात्मक सोच भएन भने सबै कुरा प्राप्त गरेर पनि खुसी अप्राप्य हुन जान्छ ।