• १३ साउन २०८१, आइतबार

कर्णालीमा बाढी खतराको तहमा, कैलालीका दक्षिणी क्षेत्र डुबानमा

blog

कैलालीको चिसापानीस्थित कर्णाली नदी । फाइल तस्बिर

टीकापुर (कैलाली) असोज १ गते । केही दिन देखिको अविरल वर्षाका कारण कर्णाली नदीमा बाढीको खतरा नजिक पुगेको छ भने कैलालीको तल्लो तटीय क्षेत्रमा डुबान भएको छ । 

शनिवार बिहान ३ः५० को समयमा कर्णाली नदीमा बाढीको तह १०.६८ मिटर पुगेको थियो । गेज रिडर पार्वती गुरुङका अनुसार अहिले कर्णालीमा बाढी बिस्तारै घट्दो क्रममा छ । बिहान छ बजेको समयमा १०.०६ मिटर रहेको छ । कर्णालीमा बाढीको तह १० मिटर पुग्नुलाई खतराको सङ्केत र १०.८० मिटरलाई खतराको तह मानिन्छ ।

कर्णालीमा बाढी बढ्दा मोहना नदी थुनिएको छ । चुरेबाट निस्कने कान्द्रा र पथरैया नदी किनारका बस्तीमा समस्या परेको छ । भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका रामकृष्ण चौधरीका अनुसार पथरैया नदी छछरवा भन्ने स्थानमा किनार भत्काएर बस्तीमा पस्दा जनकपुर, सोनाफाँटा, कृष्णनगर, काँडा ढीकका डेढ सय भन्दा बढी घर डुबानमा परेका छन् । गाउँमा बाढी पसेपछि रातभर गाईवस्तु र मानिसहरुको उद्धार गरी हुलाकी राजमार्गमा राखिएको स्थानीय पत्रकार खेमराज पाण्डेले जानकारी दिनुभयो । चारैतिर नदीले घेरिएकाले भजनी नगरपालिकाका अधिकांश वडामा बाढीको प्रभाव परेको पाण्डेको भनाइ छ ।

कान्द्रा नदी भरिएपछि वरिपरीका खोला नालाहरुको पानी थुनिएका छन् । जुटपानी नाला थुनिदा भजनी नगरपालिका वडा नम्बर ४ धनौरा बस्ती डुबेको र आफ्नो घरभित्र दुई फिट पानी पुगेको र आँगनमा पाँच फिट पानी भरिएको स्थानीय खिम पनाडीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण टीकापुर बजार क्षेत्र पनि डुबानमा परेको छ । बजार क्षेत्र, ब्लक नम्बर ११, १२, १४, ३० डुबानमा परेका छन् । डुबान क्षेत्रमा स्थानीयले जेसीवी प्रयोग गरी रातभर पानी निकास गरेका छन् ।

जिल्ला प्रशशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका बस्तीमा बाढी पसेको र चुरे गाउँपालिका क्षेत्रमा भिमदत्त राजमार्ग अवरुद्ध भएको जानकारी दिनुभयो । जोशीका अनुसार हालसम्म मानवीय क्षति भएको छैन ।

Author

एकिन्द्र तिमिल्सेना