• ८ चैत २०८२, आइतबार

ग्यास अभावको हल्लाले बाजुराका महिला दाउरा सङ्कलनमा जुटे

blog

ग्यासको अभावले दाउराको जोहो गर्दै महिला । तस्बिर : शेरबहादुर सार्की

बाजुरा, चैत ८ गते । बजारमा ग्यास अभाव भएको हल्ला फैलिएसँगै बाजुराका अधिकांश ग्रामीण बस्तीका महिलाहरू दाउरा सङ्कलनमा जुटेका छन् ।

केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको भन्ने सूचना पाएपछि उनीहरूले खाना पकाउने वैकल्पिक स्रोतका रूपमा वनबाट दाउरा सङ्कलन गर्न थालेका हुन् ।

बुढीनन्दा नगरपालिका निवासी पारु रोकायाले बजारमा ग्यास नपाइने भन्ने सुनेपछि दाउरा जोहो गर्न थालेको बताउनुभयो ।उहाँका अनुसार दैनिक रूपमा दाउराकै प्रयोग हुने भए पनि कहिलेकाहीँ ग्यास प्रयोग गरिँदै आएको थियो । 

तर, ग्यास अभावको हल्लापछि पुनः दाउरामै निर्भर हुनुपरेको उहाँले उल्लेख गर्नुभयो । यहाँका धेरैजसो स्थानमा विशेष गरी वर्षा र खेतीपातीको समयमा ग्यास प्रयोग हुने गरेको पाइन्छ । 

पछिल्लो समय ग्यास अभावको चर्चा बढ्न थालेपछि त्यस समयलाई लक्षित गर्दै महिलाले दाउरा सङ्कलन गर्न थालेका हुन् । यद्यपि केही स्थानीयले गाउँ क्षेत्रमा ग्यास अभावको प्रभाव खासै नपरेको बताएका छन् ।

बुढीगङ्गा नगरपालिका–६, बाम्का बजारस्थित विनोद जनरल स्टोरका सञ्चालक भगतराज गिरीका अनुसार बजारमा ग्यास अभाव भएको चर्चा चले पनि बाम्का लगायतका बजारमा हालसम्म त्यस्तो समस्या नदेखिएको बताउनुभयो ।

 उहाँले हालसम्म ग्राहकलाई नियमित रूपमा ग्यास उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । गिरीका अनुसार ग्यासको खरिद मूल्य बढेका कारण बिक्री मूल्य पनि वृद्धि गरिएको छ ।

ढुवानी खर्च बढ्दा मूल्यमा थप प्रभाव परेको उहाँले बताउनुभयो । हाल पसलमा सीमित मात्रामा सिलिन्डर मौज्दात रहेकाले ती बिक्री नभएसम्म नयाँ ग्यास नल्याइने पनि उहाँको भनाइ छ ।

जिल्लामा सबैभन्दा बढी ग्यास खपत बुढीगङ्गा नगरपालिकामा हुने गरेको छ ।दाउराको अभाव भएका क्षेत्रमा ग्यासको प्रयोग बढी हुने र दाउरा उपलब्ध हुने ठाउँमा अझै पनि परम्परागत रूपमा दाउराकै प्रयोग हुने गरेको स्थानीयको भनाइ छ ।

पहिले वन क्षेत्रमा दाउरा सहजै उपलब्ध हुने भएकाले ग्यासको प्रयोग न्यून थियो ।तर, वनहरू सामुदायिक व्यवस्थापनमा गएपछि दाउरा सङ्कलनमा कडाइ गरिएकाले गाउँ बस्तीमा ग्यासको प्रयोग बढ्दै गएको बताइएको छ ।