• १३ साउन २०८१, आइतबार

मदन भण्डारी राजमार्गमा पुल नहुँदा सास्ती

blog

तम्घास सिमलटारी सडक खण्डमा जोखिम मोलेर यात्रा गर्दै र सो खोलाको अवलोकन गदै पूर्वमन्त्री विष्ट । तस्बिर–तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ २८ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा खोला मार्गमा परिणत भएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ ।

राजमार्गका खोलाहरूमा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका-५ का सन्तोष महताराले गुनासो गर्नुभयो  ।


वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडकलाई छाडेर जोखिम मोलेर कच्ची  सडकहरू खोज्दै जान बाध्य भएको उहाँको भनाइ छ । खोलाहरू बढ्दा ठुल्ठूला गाडीहरू पनि बगाउने भएकाले आफूले डाँडाहरूको सडक खोजेर जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । 


नाम मात्रैको राजमार्ग भएको भन्दै खोलामा पुल नहुँदा खोला मार्ग जस्तो भएको उहाँको बुझाइ छ ।

यता, सोही गाउँपालिका वडा नम्बर ४ का धनिश्वर अर्यालले सडक र खोलाको हालत देख्दा मदन भण्डारीको नै अपमान भएको बताउनुभयो । सो राजमार्गका खोलाहरूमा पक्की पुल निर्माण गर्नमा कसैको ध्यान नगएको उहाँको गुनासो छ ।

उक्त राजमार्ग अन्तर्गत हुलाके, सिलादी खोला र अर्जेमा रहेको फूलबारी खोलामा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएका छन् ।


एक वर्ष अगाडि सोही राजमार्गमा रहेको खोला बढेकै कारण मालिका गाउँपालिका -७ घमिरका सङ्क्रमित दम्पती बोकेको एम्बुलेन्स उपचारका लागि सदरमुकाम तम्घास आउन सकेन् । सो एम्बुलेन्स खोला तर्न नसकेपछि सदरमुकामबाट नेपाली सेनाको ट्रक पठाइएको थियो । सेनाको ट्रक पनि खोला तर्न नसकी सदरमुकाम तम्घास फिर्ता भएको थियो थियो । 

खोला अवलोकन गर्दै पूर्वमन्त्री विष्ट

निर्वाचन नजिकिँदै गरेपछि गुल्मी क्षेत्र नम्बर दुईका सांसद तथा पूर्वमन्त्री गोकर्णराज विष्टले अहिले खोला अवलोकन गर्न थाल्नुभएको छ । आइतबार विष्टले त्यी खोलाहरू अवलोकन गरेको तस्बिर सामाजिक सञ्जालहरूमा प्रकाशित भएको छ । 

यता, मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख शशाङ्क मिश्राले राजमार्गमा पर्ने खोलामध्ये चार ठाउँमा पुल निर्माणको टेन्डर भई सम्झौता भइसकेकाले दसैँ र तिहार पछाडि काम अगाडि बढ्ने बताउनुभयो ।

वर्षायामको समय पनि भएकाले र चाडपर्वहरू पनि आएकाले दसैँ तिहार पछाडि द्रुत गतिमा अगाडि बढाउने उहाँको दाबी छ ।