• २८ फागुन २०८२, बिहिबार

युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

blog

बेङ्गलुरु, फागुन २८ गते । मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुँदा भारतका रेस्टुरेन्ट मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन खोज्ने अवस्थामा पुगेका छन् ।

दक्षिण भारतको प्रविधि केन्द्र बेङ्गलुरुस्थित म्याडको रेस्टुरेन्टले ग्यास बचत गर्न लोकप्रिय परिकार हटाउने निर्णय गर्नु परेको जनाएको छ । रेस्टुरेन्टका निर्देशक सन्तोष अब्राहमका अनुसार ग्यास बचत गर्न खाजा सेवा पनि अस्थायीरूपमा बन्द गरिएको छ । उहाँले सम्भावित सङ्कटको सङ्केत पहिले नै देखिए पनि यसको असर यति चाँडै देखिने अपेक्षा नगरेको बताउनुभयो ।

भारत विश्वको दोस्रो ठूलो तरलीकृत पेट्रोलियम ग्यास ९एलपिजी० आयातकर्ता हो, जसको करिब ९० प्रतिशत आपूर्ति होर्मुज जलडमरूमध्य हुँदै आउँछ । हाल युद्धका कारण यो मार्गको ढुवानी गम्भीर रूपमा प्रभावित भएको छ । भारतका लाखौँ रेस्टुरेन्ट खाना पकाउन ग्यास सिलिन्डरमा निर्भर छन् । प्रदूषण नियन्त्रणका कारण सरकारले धेरै ठाउँमा कोइला र दाउरा प्रयोग हुने भाँडाकुँडा प्रयोग नगर्न निर्देशन दिएको छ ।

आयात प्रभावित भएपछि भारत सरकारले घरपरिवार र अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिँदै ग्यास वितरण कडा बनाएको छ । यसले रेस्टुरेन्ट, उद्योग र विद्युत उत्पादन क्षेत्रमा दबाब बढाएको छ । बेङ्गलुरुको ‘गुरिल्ला डाइनर’ नामक बर्गर रेस्टुरेन्टका सुस शेफ ध्रुव थपलियालले अहिले व्यवसाय टिकाइ राख्न नै सङ्घर्ष भइरहेको बताउनुभयो । उहाँका अनुसार रेस्टुरेन्टमा जम्मा साढे दुई सिलिन्डर ग्यास मात्र बाँकी छ । 

यदि ग्रिल चलाइयो भने डेढ दिन मात्र पुग्ने र फ्रायर मात्रै चलाए चार दिनसम्म टिक्न सक्ने उहाँले बताउनुभयो । यसबिच प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई ‘आत्तिनु आवश्यक छैन’ भन्दै ग्यास आपूर्ति बढाउने विषयमा अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनुभएको छ ।

तर उद्योग प्रतिनिधिले सङ्कट थप गम्भीर हुन सक्ने चेतावनी दिएका छन् । नेसनल रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका बेङ्गलुरु शाखा प्रमुख अनन्त नारायणका अनुसार ग्यास सिलिन्डरको कालोबजारी मूल्य सामान्यभन्दा करिब दोब्बर पुगेको छ । उहाँले सरकारले कडा कदम चाल्नुपर्ने माग गर्नुभयो ।

रेस्टुरेन्ट उद्योगले ग्यास बचत गर्न विभिन्न उपाय अपनाउन थालेको छ । लामो समय उमाल्नुपर्ने, गहिरो तल्नुपर्ने वा ढिलो पकाइने परिकार घटाउन र पकाउने समय कम गर्न सामग्री पहिले नै भिजाएर तयार पार्ने सुझाव दिइएको छ । मुम्बईको चिनियाँ रेस्टुरेन्ट जिप्सीले बाफमा पकाइने डिम सम परिकार मेनुबाट हटाएको छ । रेस्टुरेन्ट सञ्चालक अदिति लिमये कामतका अनुसार एक भाग बनाउन आठदेखि १० मिनेटसम्म ग्यास निरन्तर चलाउनुपर्ने भएकाले त्यस्ता परिकार हटाइएको हो ।

कतिपय रेस्टुरेन्टले पुराना इन्धन स्रोत प्रयोग गर्न थालेका छन् । बेङ्गलुरुको ‘द पिज्जा बेकरी’ का सञ्चालक गुरुदत्तका अनुसार पहिले हप्तामा करिब ३०० किलो दाउरा प्रयोग हुन्थ्यो भने अहिले ४५० देखि ६०० किलोसम्म प्रयोग भइरहेको छ । ग्यास बर्नर बन्द गरेर ओभन तताउन दाउराको प्रयोग बढाइएको उहाँले बताउनुभयो ।

पर्यटक गन्तव्य गोवास्थित मोन पेटिट फ्रेरे क्याफेका मालिक डेनियल रोड्रिग्सले सरकारको हस्तक्षेप आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार ग्यास अभावका कारण आमलेट र प्यानकेक जस्ता साधारण परिकार तयार पार्न पनि कठिन हुन थालेको छ । यस सङ्कटको प्रभाव छिमेकी श्रीलङ्कामा पनि देखिएको छ । त्यहाँ इन्धन मूल्य बढेको एक दिनपछि एलपिजीको मूल्य आठ प्रतिशतले बढाइएको छ ।

श्रीलङ्काको क्यान्टिन मालिक सङ्घका प्रवक्ता असेला सम्पतका अनुसार ग्यास अभावको डरले धेरै व्यवसायीले बिजुली स्टोभ र राइस कुकर खरिद गर्न थालेका छन् । उहाँले अहिलेका लागि अतिरिक्त खर्च आफैँले व्यहोर्नु परेको बताउँदै अन्यथा ग्राहक गुम्ने जोखिम रहने उल्लेख गर्नुभयो । रासस/एएफपी