• १३ साउन २०८१, आइतबार

पुरानै अनुहार दोहोर्‍याउँदै छन् पार्टी

blog

तिलाचन पाण्डे

तम्घास, भदौ २८ गते  । मङ्सिर ४ गतेलाई निर्धारित प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक पार्टीहरूले पुरानै अनुहारलाई उम्मेदवारमा सिफारिस गरेका छन्। 

मतदाताले युवा तथा नयाँ अनुहारको आशा गरे पनि गुल्मीमा भने नयाँ अनुहार देख्न नपाउने आधार स्पष्ट भएको छ। पार्टीहरूले पुरानै नेताहरूलाई केन्द्र र प्रदेश निर्वाचनका लागि सिफारिस गरेका छन्। तम्घासका स्थानीय सूर्य सुनारले भन्नुभयो, यस पटक पनि युवा र नयाँ अनुहार परेनन्, पुरानै अनुहार सिफारिस हुनुले यो कुरा स्पष्ट भएको छ । नयाँ सोच र विचार भएकाहरू पार्टीहरूको आँखामा परेनन्। 

“आम जनता तथा मतदाताको अपेक्षाभन्दा बाहिर रहेर राजनीतिक पार्टीले उम्मेदवारको नाम सिफारिस गरेका छन्,” उहाँले थप्नुभयो– “जनताले युवाबाट केही आशा गरे पनि राजनीतिक दल त्यसका लागि तयार भएनन्।” 

गुल्मीमा नेकपा एमालेले क्षेत्र नम्बर–२ बाट गोकर्णराज विष्टलाई नै उम्मेदवारका लागि सिफारिस गरेको छ।  क्षेत्र नम्बर–१ बाट एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली एकल सिफारिस हुनुभएको छ। 

त्यस्तै कांग्रेसका तर्फबाट चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकाल सिफारिस हुनुभएको छ। सिफारिस भएकाहरूमध्ये भण्डारी अघिल्लो पटक पराजित, कँडेल महाधिवेशन प्रतिनिधिमा पराजित र ढकाल पालिका अध्यक्षमा पराजित नेता हुनुहुन्छ।   

नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचन क्षेत्र नम्बर–१ बाट सङ्घीय प्रत्यक्षतर्फ पुष्पकमल दाहाल प्रचण्ड, लक्ष्मण पन्त र मनिराम ज्ञवालीको नाम सिफारिस गरेको छ। सोही निर्वाचन क्षेत्रमा प्रदेश क र खतर्फ तीन/तीन जनालाई सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नम्बर–२ को सङ्घीय प्रत्यक्षतर्फ तीन जनालाई सिफारिस गरेको छ।

यता नेकपा एकीकृत समाजवादीले गुल्मी क्षेत्र नम्बर–१ को सङ्घीय प्रत्यक्षतर्फ प्रमेश पोखरेल र क्षेत्र नम्बर–२ बाट एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सिफारिस गरेको छ।