• ९ चैत २०८२, सोमबार

लमजुङ क्याम्पसका विद्यार्थी रिले अनशनमा

blog

क्याम्पस प्रमुखको कार्यकक्षमा रिले अनशन बसेका विद्यार्थी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, चैत ९ गते । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा अध्ययनरत विद्यार्थी रिले अनशनमा बसेका छन् ।

बिहीबारदेखि निधारमा कालोपट्टी बाँधेर विद्यार्थी क्याम्पस प्रमुखको कार्यकक्षमा अनशनमा बसेका हुन् । बिएस्सी–एजी चौथो सत्रान्तका विद्यार्थीले निर्वाचनअघि छुटेका परीक्षालाई नियमित तालिका बनाएर सञ्चालन गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् । 

विद्यार्थीका अनुसार फागुन ११ गते क्याम्पस प्रमुख डा. रामकुमार श्रेष्ठसँग भएको सहमति अनुसार फागुन २६ पछि परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भनिएको थियो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू दबाबको कार्यक्रम गरेको बताएका छन् । सहमति कार्यान्वयनको माग गर्दै विद्यार्थी अहिले क्याम्पस प्रमुखकै कार्यकक्षमा रिले अनशनमा छन् ।

यसअघि डिनको कार्यालयले चौथो सत्रान्तका लागि फागुन १० देखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो । उक्त तालिका अनुसार केही परीक्षा निर्वाचनअघि र बाँकी निर्वाचनपछि हुने व्यवस्था गरिएको थियो । तर पढाइ नियमित हुन नसकेको, आन्तरिक मूल्याङ्कन समेत पूरा नभएको भन्दै विद्यार्थीले परीक्षा सार्नुपर्ने माग राख्दै आन्दोलन थालेका थिए ।

विद्यार्थी अवसर अधिकारीका अनुसार पुसदेखि सुरु भएको चौथो सत्रान्तको पढाइ विभिन्न कारणले प्रभावित भएको थियो । हिउँदे बिदा, शिक्षकहरूको आन्तरिक आन्दोलन, क्याम्पस परिसरमै आयोजना भएका कार्यक्रम तथा महोत्सवका कारण कक्षा नियमित हुन सकेको थिएन । 

स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक सभापति आशिष पौडेलका अनुसार माघ २६ गते विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए । पछि फागुन ११ गते क्याम्पस प्रशासनसँग सहमति भएपछि ताला खोलिएको थियो । सहमति अनुसार अघि बढ्नुको सट्टा छुटेका परीक्षालाई ‘ब्याक’ मा राख्ने प्रयास भएपछि पुनः आन्दोलन सुरु गरिएको उहाँले बताउनुभयो ।

क्याम्पस प्रमुख श्रेष्ठले भने निर्वाचनअघि प्रभावित भएका परीक्षालाई पछि नियमित गराउन डिन कार्यालयसँग समन्वय गर्ने सहमति भएको बताउनुभयो । आफूहरूले यस विषयमा पहल गरे पनि डिन कार्यालयबाट औपचारिक निर्णय नआएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “परीक्षाको तालिका क्याम्पस आफैंले बनाउन सक्दैन । डिन कार्यालयले पुनः तालिका निकाल्न गाह्रो छ, भनिरहेको छ । हामीले पहल गरिरहेका छौं, तर अन्तिम निर्णय त्यहीँबाट आउनुपर्छ ।” 

उहाँका अनुसार कृषि तथा पशु विज्ञान संस्थान अन्तर्गत अन्य क्याम्पसहरूमा भने परीक्षा नियमित रूपमा भइरहेका छन् । लमजुङ क्याम्पसमा परीक्षा विवादकै कारण अध्ययन–अध्यापन प्रभावित बनेको छ ।