धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ९ गते । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा अधुरा सडक निर्माण कार्यलाई विशेष प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सम्बन्धित ठेकेदार कम्पनीहरूलाई काम शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
स्थलगत निरीक्षणका क्रममा उहाँले सडक निर्माणमा भएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै निर्धारित समयसीमा र गुणस्तरअनुसार काम अगाडि बढाउन आग्रह गर्नुभयो। अधुरा सडकका कारण सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको उल्लेख गर्दै विकास निर्माणका काममा लापरवाही नगर्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ।
यसै क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोलस्थित वृद्धाश्रम तथा महिला सुरक्षा आवासको पनि निरीक्षण गरिएको छ। निरीक्षणका बेला ज्येष्ठ नागरिक तथा आश्रयमा रहेका महिलालाई उपलब्ध सेवा सुविधामा सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो।
त्यसैगरी जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन विभिन्न प्रहरी चौकीहरूको निरीक्षणसमेत गरिएको छ। निरीक्षणका क्रममा जनताका आधारभूत समस्या तत्काल समाधान गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले विकास निर्माण, सामाजिक सेवा र शान्ति सुरक्षालाई सँगसँगै प्रभावकारी बनाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।