• ११ असोज २०८१, शुक्रबार

आरक्षभित्रै संरक्षित वन्यजन्तुको किनबेच

blog

सचिन पोख्रेल

कोसीटप्पु (सुनसरी), भदौ २८ गते । विश्वमै दुर्लभ मानिएका अर्नासहित विभिन्न वन्यजन्तु र सयौँ प्रजातिका चराको संरक्षण स्थलको रूपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रै संरक्षित वन्यजन्तुको चोरी सिकारी मात्र नभएर अवैध रूपमा किनबेचसमेत हुनेगरेको रहस्य बाहिरिएको छ।

सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको अर्नाको राजधानी मानिने आरक्षमा पछिल्लो समयमा अर्नालगायतका वन्यजन्तुको चोरी सिकारीमा सङ्गठित गिरोह नै परिचालित भएर आरक्षभित्रै चोरी सिकारी गरी किनबेच हुने गरेको तथ्य फेलापरेको हो। बन्दुकलगायतका विभिन्न हातहतियारको प्रयोग गरी आरक्षभित्र वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको अवस्थामा पक्राउ परेको गिरोहसँग लिइएको प्रारम्भिक बयानको क्रममा आरक्षभित्रै चोरी सिकारी गरी किनबेचसमेत हुने गरेको तथ्य खुलेको आरक्षले जनाएको छ।

आरक्षको सुरक्षाका लागि परिचालित नेपाली सेनाको दुर्गादल गुल्मसमेतको टोलीले एक महिनाको अवधिमा आरक्षबाट वन्यजन्तुको चोरी शिकारी गर्ने दुईवटा सङ्गठित गिरोहलाई पक्राउ गरेको थियो। आरक्षको गरैया टप्पुको क्षेत्रबाट केही दिनअघि मात्र चारवटा अर्ना चोरी निकासी गरी भाग्दै गरेको गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। सेनाको टोलीले प्रदेश २–०३–००१ च. ४६३० नम्बरको पिकअप गाडीमा चारवटा अर्ना लोड गरेर भगाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो। 

आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार, अर्नाको चोरी सिकार गरेको अवस्थामा पक्राउ परेका सुरेन्द्र खेरवार, अभिषेक अधिकारी, नन्दकुमार दनुवार, राजेश्वर मण्डल र दिनेशकुमार मण्डलले आरक्षभित्रै रहेको अर्को चोरी सिकारी गर्ने गिरोहबाट चारवटा अर्ना किनेर बाहिर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका थिए। अहिले आरक्षको हिरासतमा रहेका उनीहरूबाट प्रारम्भिक बयानको क्रममा अर्ना आरक्षभित्रै अवैध रूपमा किनेको हुने गरेको कुरा खुलेपछि अर्ना चोरी गरी बिक्री गर्ने अर्को गिरोहको खोजी थालिएको छ। यस क्रममा आरक्ष तथा आसपासका क्षेत्रमा सेना तथा आरक्षका कर्मचारीको संयुक्त टोलीले बृहत् सर्च अभियान सञ्चालन गरेको बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले अर्नाको चोरी निकासी गर्ने गिरोहलाई गुल्मको गस्ती टोलीले पक्राउ गरेको र आरक्षको सुरक्षाको क्रममा सेनाको गस्तीलाई थप सशक्त बनाइएको बताउनुभयो। यसअघि आरक्षको सुरक्षार्थ तैनाथ सेना र आरक्षका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले विभिन्न हातहतियार र चित्तलको मासुसहित आठ जना सिकारीलाई पक्राउ गरेको थियो। 

आरक्षअन्तर्गत पर्ने श्रीलङ्का टापुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित सुरुमा पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा गिरोहका अन्य सात जना सिकारी पक्राउ परेका थिए। संयुक्त गस्ती टोलीले स्थानीयको एक घरमा ‘कर्डन एन्ड सर्च’ गर्दा पक्राउ परेका अन्य सात जना शिकारीको साथबाट तत्काल मारेको चित्तलको ६३ किलो आलो मासुका साथै दुई नाल भरुवा बन्दुक, टीका बारुद, खुँडा, खुकुरीलगायतका सामग्री बरामद गरिएको थियो। एक महिनाको अवधिमा पक्राउ परेका दुवै शिकारी गिरोहमाथि सूक्ष्म अनुसन्धान भइरहेको बताइएको छ। 

आरक्षभित्र जङ्गली हात्तीको त्रासको कारण मध्यवर्ती क्षेत्रका सर्वसाधारण घाँस दाउरालगायतको काममा प्रवेश गर्ने क्रम रोकिएपछि सुनसान बनेको संरक्षित क्षेत्रमा पछिल्लो समय चोरी शिकारी बढ्दै गएको देखिन्छ। आरक्षभित्र ठूलो समूह वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको आरक्ष प्रशासनको अनुमान छ। चोरी शिकार गर्ने समूहले वन्यजन्तुको मासु सुनसरी, सप्तरी, उदयपुरका साथै सीमावर्ती भारतीय बजारमा लुकीछिपी बिक्री गर्ने गरेको बताइन्छ। 

आरक्षभित्र रहेका विभिन्न प्रकारका वन्यजन्तुमध्ये अर्ना, हरिण, मृग र बँदेलको बढी मात्रमा चोरी सिकारी हुने गरेको स्थानीयको भनाइ छ। यसबाहेक जङ्गली जनावरको हाड, छाला र विभिन्न अङ्ग देश–विदेशमा तस्करी गर्ने गरेको पाइन्छ।

प्रमुख संरक्षण अधिकृत यादवले हतियारसहित सिकारी पक्राउ परेको घटनाबाट आरक्षमा चोरी सिकारी गर्ने गिरोहको सक्रियता बढेको अनुमान गर्न सकिने बताउनुहुन्छ। यस परिस्थितिमा आरक्षभित्र थप सुरक्षा र निगरानी बढाउने कामलाई प्राथमिकता दिने उहाँको भनाइ छ। आरक्ष प्रशासनले सेनासँगको समन्वयमा गस्ती र निगरानी बढाउनुका साथै स्थानीयलाई वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सूचना दिन आग्रह पनि गरेको छ।

कोसीटप्पु रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्र हो। अर्ना र चराको अध्ययन तथा अनुसन्धानकर्ताका लागि कोसीटप्पु महŒवपूर्ण मानिन्छ। कोसीटप्पु अर्नाको संरक्षणका लागि स्थापित गरिएको भए पनि आवश्यक संरक्षणको अभावमा अर्ना नै सङ्कटमा पर्न थालेकोमा सरोकारवालाको चिन्ता छ। अर्नाजस्ता देखिने भैँसीको बाहुल्यले आरक्षमा रहेका सक्कली अर्नालाई चरनको अभाव हुँदै गएको अवस्थामा अर्नाको चोरी सिकारी हुनथालेपछि अर्ना सङ्कटमा पर्ने चिन्ता बढेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी बताउनुहुन्छ। स्थानीयले आरक्षको संरक्षित क्षेत्रमा हजारौँको सङ्ख्यामा घरपालुवा जनावर छोडेकाले संरक्षित अर्नाको बासस्थान र चरिचरन अतिक्रमणमा पर्दा अर्ना सङ्कटमा परेको छ।