• १३ साउन २०८१, आइतबार

साईपाल गाउँपालिकामा चाँडै औषधि उपलब्ध हुने

blog

–सांकेतिक तस्विर

शैलेन्द्र रोकाया 

बझाङ, भदौ २७ गते । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिको अभाव भएको छ । गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो । साईपाल गाउँपालिका–३ का दीपक बोहराले भन्नुभयो, ‘औषधि अभावका कारण सामान्य विरामीहरुलाई औषधि नदिएर चेकजाँच गरेर मात्र घर पठाउने गरेका छौँ ।’

सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा रहेको गाउँपालिकामा खच्चर तथा भरियाबाट मात्र सामान ढुवानी गर्नुपर्ने अवस्था छ । वर्षायाम सुरू भएसँगै गाउँपालिका जोड्ने एकमात्र घोरेटो बाटो अवरुद्ध भएका कारण खाद्यान्न र औषधिलगायतका सामान अभाव भएको छ ।

साईपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले भन्नुभयो, गाउँबाट धेरै गुनासो नआए पनि १२ लाख बराबरको औषधि खरिद गरेर खच्चरमार्फत गाउँपालिका पठाइसकेका छौँ । उहाँका अनुसार दुई / तीन दिन भित्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थासम्म पुग्छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक जयराज जोशीले सामान्य खालका औषधिको मात्र केही अभाव भएको बताउँदै सिटामोललगायतका औषधि स्टोरमा रहेको दाबी गर्नुभयो । उहाँले औषधि गाउँपालिकामा पठाइसकेको र जिल्लामा प्रतिकूल मौसमका कारण खच्चरमार्फत ढुवानी गर्नुपर्ने भएकाले केही समय ढिला भएको बताउनुभयाे ।  टेलिफोनको समेत राम्रो पहुँच नभएको साईपाल गाउँपालिकाका कति स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो भन्नेबारे यकिन हुन बाँकी छ ।