• १६ भदौ २०८१, आइतबार

गुलजार ए अदबद्वारा उर्दु मुशायरा आयोजना

blog

नेपालगञ्जमा उर्दु मुशायरामा गजल सुनाउँदै शायरहरु । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ २६ गते । बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ । 

सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारहरूद्वारा गठन गरिएको सो संस्थाले केही समययता निरन्तर उर्दु मुशायरा र बहुभाषिक कवि गोष्ठीको आयोजना गर्दै आएको छ । 

केही समय पहिलेसम्म कहिले काहीँ मात्रै हुँदै आएको मुशायरा अहिले हरेक साता गरिने गरिएको गुलजार ए अदबका अध्यक्ष तथा वरिष्ठ शायर अब्दुल लतिफ शौकले बताउनुभयो । 

उहाँले युवा पुस्तामा उर्दु सायरीप्रति आकर्षण बढ्दै गएको पाइएकाले आफूहरूले मुशायरालाई निरन्तरता दिइएको बताउनुभयो । 

निरन्तर मुशायराको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रम हुनुभन्दा पहिले नै एक मिसरा दिएर सोही मिसरा केन्द्रित भएर उर्दु गजल लेख्ने र सुन्ने सुनाउने कार्य भइरहेको उर्दुका युवा शायर जमिल अहमद हाशमीले बताउनुभयो । 

उहाँले पछिल्लो समयमा नेपालगन्जमा साहित्यिक कार्यक्रम र गतिविधि बढ्न थालेपछि साहित्यकारहरू उत्साहित बनेर रचना लेखनमा लागेको बताउनुभयो । 

अहिले नेपालगन्जमा प्रायः जसो कवि गोष्ठी, साहित्यिक किताब विमोचन, एकल कविता वाचन, उर्दु मुशायरा, बहुभाषिक कवि गोष्ठी र समीक्षात्मक कार्यक्रमहरू निरन्तर भइरहेको वरिष्ठ कथाकार तथा प्राज्ञ सनत रेग्मीले बताउनुभयो ।