• ११ असोज २०८१, शुक्रबार

धनकुटामा थपिए ६७७ नयाँ उद्योग

blog

घरेलु तथा साना उद्योग कार्यालय धनकुटा । फाइल तस्बिर

हिले, भदौ २६ गते । धनकुटामा ६७७ वटा नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा ६७७ वटा नयाँ उद्योग थपिएका हुन् । 

थपिएका नयाँ उद्योगमा ७४ करोड १३ लाख ३२ हजार ९ सय रुपैयाँ लगानी भएका छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता ४४ करोड ८९ लाख ३९ हजार ११६ रुपैयाँ बरावरको छ । नयाँ उद्योगहरूले एक हजार ८६३ जनालाई रोजगारी सिर्जना गरेको छ । जसमध्ये एक हजार २१ जना पुरुष र ८४२ जना महिला छन् । दर्ता भएका नयाँ मध्ये उत्पादनमूलक तर्फका २४ उद्योगमा २ करोड ७९ लाख ३७ हजार लगानी भएका छन् । 

त्यस्तै कृषि तथा वनजन्य तर्फका ३९६ उद्योगमा ५८ करोड ३७ लाख ७० हजार ८ सय, पर्यटन सम्बन्धी ४८ वटा उद्योगमा ६ करोड २३ लाख २५ हजार, सेवामूलकका ४७ उद्योगमा ६ करोड ५३ लाख र सूचना प्रविधिका १ वटा उद्योगमा २० लाख रुपैयाँ लगानी भएका छन् । थपिएका नयाँ उद्योगमध्ये उद्योगतर्फ ५१६ र वाणिज्यतर्फ १६१ हुन् । 

जिल्लामा हालसम्म उद्योगको सङ्ख्या पाँच हजार ४९१ पुगेको छ । जसमध्ये उद्योगतर्फ ३ हजार ८३७ र वाणिज्यतर्फ एक हजार ६५४ वटा रहेको कार्यालय प्रमुख ईश्वर थापाले जानकारी दिनुभयो । घरेलुमा उद्योग दर्ता गर्दा सरकारी सेवा सुविधा पाउने कानुनी झन्झट नहुने, उद्यमी बन्ने चाहना, विभिन्न माध्यमबाट जनचेतना वृद्धि, घरेलु उद्योगमा महिलालाई ५० प्रतिशत छुट भएकाले उद्योग दर्ता गर्न सेवाग्राही आकर्षित हुन थालेको थापा बताउनु हुन्छ ।
Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।