• १७ भदौ २०८१, सोमबार

निर्माण भएको ४ वर्षमा प्रसूति गृह सञ्चालन नहुँदा महिलालाई सास्ती

blog

–सांकेतिक तस्विर

गाेरखापत्र अनलाइन

रौतहट, भदाै २५ गते । रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसूति गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका छन् ।

रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ । नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यसम्बन्धी हकअधिकार प्रदान गरेको छ ।

मातृत्व र प्रजनन् स्वास्थ्यलाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु राज्यको दायित्व पनि हो । तर पनि गाउँ गाउँमा प्रसूति गृह नहुँदा महिलाहरूले बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यताका कारण महिलाको स्वास्थ्यमा जोखिम बढेको स्थानीयहरू बताउँछन् ।

महिलाहरूलाई सहज र सुरक्षित सुत्केरी गराउने उद्देश्यले दातृ संस्थाको सहयोगमा निर्माण गरिएको प्रसूति गृह सञ्चालनमा नआउनुले स्थानीयवासी ज्यानको जोखिम मोल्न बाध्य छन् । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम (सिडिपी) को तर्फबाट ३३ लाख ७७ हजार, गुजरा नगरपालिकाको तर्फबाट ५ लाख ४ हजार र स्थानीयको २ लाख १४ हजार गरी जम्मा ४० लाख ९६ हजार रुपियाँको लागतमा सो प्रसूति गृह निर्माण भएको थियो ।

एकतले तीन कोठे प्रसूति गृह वि.सं. २०७४ चैत्रमा निर्माण सुरु भएर २०७५ असोजमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको ४ वर्ष पुग्न लागिसक्दा पनि प्रसूति गृह सञ्चालन नहुँदा त्यहाँ महिलाहरू सुत्केरी गराउन जोखिम मोलेर चन्द्रपुर, वीरगन्ज, भरतपुर जानुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ । अनमी राधाकुमारी भट्टराईले निर्माण भइसक्दा समेत स्थानीय प्रशासनले चासो नदिएको गुनासो गर्नुभयो । उहाँले सञ्चालनमा आए महिलाहरूलाई सुत्केरी गराउन अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । 

राम्रो प्रसूति गृह नहुँदा घरमै असुरक्षित सुत्केरी गराउन बाध्य स्थानीयहरू आफ्नै गाउँमा प्रसूति गृह बनेसँगै सो समस्याबाट मुक्ति पाउने आशामा थिए । प्रसूति गृहको स्थापनासँगै महँगो खर्च गरेर अन्य सहरका अस्पतालमा जानुपर्ने झन्झट र दुः खबाट छुट्कारा पाउने भन्दै दङ्ग बनेका स्थानीय यतिखेर निराश छन् ।

जतिसक्दो चाँडो प्रसूति गृह सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । स्थानीय प्रशासनले चासो नदिँदा समस्या समाधान हुन नसकेको स्थानीय रुद्रकुमराी ढंगाना बताउनुहुन्छ । उहाँले स्थानीय सरकारले चासो दिएर काम गर्ने हो भने सुत्केरी गराउन चितवन पुग्नुपर्ने बाध्यताको समाधान हुने र गाउँमा नै सहज तरिकाले महिलाले सेवा पाउने स्थानीय सुकामान मोक्तानले बताउनुभयो ।

घर नजिकै प्रसूति गृह सञ्चालन भए राम्रो सुविधा पाउने आशा भए पनि ४ वर्ष बित्दासमेत सञ्चालनमा नआउँदा निराश बनेको बताउनुभयो । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार प्रसूति गृह सञ्चालनको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा सूचीकृत हुनुपर्छ । तर ४ वर्षसम्म प्रसूति गृहमा कम्पाउण्ड, स्वास्थ्यकर्मी बस्ने क्वाटरलगायतका सुविधा नहुँदा सूचीकृतमा समस्या छ ।

प्रसूति सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूले २४ घण्टा सेवा प्रदान गरिरहनुपर्ने र सो अनुसारको थप संरचना र सुविधा नभएकाले सूचीकृत हुन समस्या भएको जनस्वास्थ्य निरीक्षक भूपेन्द्र चौधरीले बताउनुहुन्छ ।   

गुजरा नगरपालिकाका उपप्रमुख रत्ना लामाले नगरपालिकाले केन्द्र सरकारसँग प्रसूति गृह सञ्चालनको लागि आवश्यक बजेटको पहल गरिसकेकाले अब चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यचौकी व्यवस्थित नभएको कारण प्रसूति गृह सञ्चालनमा नल्याएको उल्लेख गर्नुभयो । 

प्रसूति गृह सञ्चालनमा नआउँदा सबैभन्दा बढी मार आर्थिक रूपमा कमजोर समुदायका महिलाहरूलाई परेको छ । टाढाको अस्पतालमा लैजाने एम्बुलेन्स खर्च, औषधि उपचार तथा खर्च व्यहोर्न ऋण खोज्नुपर्ने उहाँहरूको बाध्यता छ । –एजेन्सीकाे सहयाेगमा