• ११ असोज २०८१, शुक्रबार

नेपाली सेनाद्वारा अभियानमा सहयोग गर्नेलाई प्रशंसापत्र प्रदान

blog

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजनकुमार लिम्बूलाई प्रशंसापत्र बुझाउँदै गुल्मपति श्रेष्ठ ।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २५ गते । नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ मा सहयोग र सहकार्य गर्ने पालिकाहरूलाई प्रशंसापत्र प्रदान गरेको छ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमाल सरसफाइमा सहयोग गर्ने यहाँको फक्ताङ्लुङ गाउँपालिकालाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको हो । 

अभियानअन्तर्गत नेपाली सेनाले कञ्चनजङ्घा हिमालको आधार शिविर तथा माथिल्लो क्षेत्रमा सङ्कलन गरेको सड्ने र कुहिने प्रकृतिका तीन हजार १७ किलोग्राम फोहोरजन्य वस्तु फक्ताङ्लुङ गाउँपालिकालाई व्यवस्थापन गर्न जिम्मा दिएको थियो । उक्त फोहोर व्यवस्थापनमा सहयोग पु¥याएको भन्दै सेनाले फक्ताङ्लुङ गाउँपालिकालाई प्रशंसापत्र प्रदान गरेको हो ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मामार्फत पठाइएको प्रशंसापत्र जिल्लास्थित भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजनकुमार लिम्बू (मुक्ति) लाई हस्तान्तरण गर्नुभएको छ । गत चैत अन्तिम सातादेखि जेठ पहिलो सातासम्म नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान–२०२२’ का क्रममा कञ्चनजङ्घा हिमालबाट मात्र १५ हजार ३७३ किलोग्राम फोहोर सङ्कलन गरिएको छ । 

सङ्कलित फोहोरमध्ये सड्ने प्रकृतिका फोहोरवस्तु फक्ताङ्लुङ गाउँपालिकालाई जिम्मा दिएर बाँकी तत्काल नसड्ने र धातुजन्य फोहोरमैला भने सेनाले काठमाडौं नै लगेको थियो । यस्तै फोहोरजन्य वस्तु सङ्कलनकै क्रममा नेपाली सेनाले कञ्चनजङ्घा क्षेत्रबाट दुईवटा मानव कङ्काल पनि फेला पारेको थियो । मानव कङ्काल भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई जिम्मा दिइएको थियो । 

अभियानका क्रममा नेपाली सेनाले कञ्चनजङ्घासहित सगरमाथा, ल्होत्से, मनास्लु लगायतका हिमाल सफाई गरेको थियो । उक्त हिमालहरूको सफाई अभियानमा सहयोग पु¥याउने सम्बन्धित स्थानीय तहलाई पनि प्रशंसापत्र दिएर सहयोगको सम्मान गरेको नेपाली सेना स्रोतले जनाएको छ ।