पशुपति अधिकारी
पदयात्रा पर्यटनका लागि प्रसिद्ध अन्नपूर्ण वेस क्याम्प, मर्दी हिमाल र घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्दछन् । अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणी मोहडामा ४०७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको नामकरण विश्वको दसौँ अग्लो अन्नपूर्ण हिमालको नामबाट गरिएको हो । यो हिमालको उचाइ ८,०९१ मिटर रहेको छ । यो गाउँपालिकाभित्र पर्ने अन्नपूर्ण हिमालमा अन्न र पोषणकी देवी अन्नपूर्ण माताको वासस्थान रहेको धार्मिक मान्यता रहिआएको छ ।
भगवान् शिवले अन्नको महत्व बुझेपछि आफ्नी पत्नी पार्वतीबाट अन्नको दान मागेको हुँदा पार्वतीको अर्को नाम अन्नपूर्ण रहन गएको हो । नेपालमा सबैभन्दा बढी पानी पर्ने लुम्ले यहीँ पर्ने हुँदा आध्यात्मिक शक्तिमा विश्वास गर्ने आधार तय भएको छ । गुरुङ समुदायको बाहुल्य रहेको यस गाउँपालिकामा बाहुन, क्षेत्री, विश्वकर्मा, मगर, दर्जी र सार्की समुदायको पनि बसोबास रहेको छ । यहाँका बासिन्दाको मुख्य पेसा कृषि र पशुपालन हो । केही व्यतिm पर्यटन व्यवसायमा पनि संग्लन छन् ।
सर्वप्रथम सन् १९५० को जुन ३ तारिखमा फ्रान्सेली पर्वतारोही मौरिस हरजोगको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि पदयात्राका लागि आउने युरोपेली, अमेरिकी पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गयो । पर्यटकको सुविधाका लागि यहाँको घान्द्रुक गाउँमा सर्वप्रथम सन् १९७० मा होटल खुलेको थियो । पदयात्रामा आउने पर्यटक बढेसँगै काठ र दाउराको माग बढ्नाले वन मासिँदै गयो । पर्यटकका कारण वनमाथि चाप प-यो । विश्वप्रसिद्ध घोरेपानीको गुराँसे वनलगायत आसपासको वन मासिँदै गएकाले रोकथामका उपाय अवलम्बन गर्नुपर्ने महसुस गरियो । साथै गुरुङ समुदायको मौलिक संस्कृतिमा पनि असर पर्न थालेकाले प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पदयात्रा पर्यटनलाई व्यवस्थित गर्ने उपायको खोजी गर्न सन् १९८६ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लागू गरी घान्द्रुक गाउँबाट पाइलट प्रोजेक्टका कार्यक्रम सुरु गरियो ।
अन्नपूर्ण गाउँपालिकाको माथिल्लो भाग अन्नपूर्ण संरक्षण क्षेत्रका रूपमा तथा तल्लो भाग फेवातालको जलाधार क्षेत्र र पञ्चासे संरक्षित वनका रूपमा व्यवस्थापन गरिएको छ । बागलुङ–पोखरा राजमार्गको २४ किलोमिटर खण्ड यसै गाउँपालिकाभित्र पर्छ । मुक्तिनाथ जाने तीर्थयात्री यही बाटो भएर जाने आउने गर्दछन् ।
आयोजनाकै पहलमा सन् १९८८ मा घान्द्रुकमा र पछि क्रमशः अन्य गाउँमा लघु जलविद्युत केन्द्र निर्माण गरिए । यसबाट इन्धनका लागि वनमा परेको चापमा केही कमी आयो । पदयात्रा पर्यटन प्रवद्र्धन गर्न यहाँ अवलम्बन गरिएका अभ्यास अनुकरणीय रहेको हुँदा यस ठाउँलाई सन् १९९२ देखि अन्नपूर्ण संरक्षण क्षेत्रका रूपमा व्यवस्थापन गरियो । दिगो पर्यटन विकासका लागि यहाँ अवलम्बन गरिएका केही अभ्यास मा अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल र घोरेपानी जाने पदयात्रा मार्गमा घोडा, खच्चडबाट सामान ढुवानी गर्न नपाइने, पदयात्रा मार्गका होटलहरूले दाउरा बाल्न नपाउने, आमा समूहको सक्रियतामा फोहोर व्यवस्थापन गर्ने र पर्यटन व्यवसायीले आफ्नो होटलका शøया दसवटाभन्दा बढी बनाउन नपाइने रहेका छन् । पदयात्रा पर्यटनसम्बन्धी यस्ता अभ्यासलाई देशका अन्य भागमा समेत विस्तार गर्न सकेमा ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने महसुुस गरियो । फलस्वरूप मनास्लु, गौरीशङ्कर, कञ्चनजङ्घा र अपि नाम्पा संरक्षण क्षेत्र स्थापना हुँदै गए ।
यो गाउँपालिकाको मुख्य विशेषता भनेकै पोखराको नजिकै रहेका अन्नपूर्ण, माछापुच्छ«े, गङ्गापूर्ण, नीलगिरि, हिउँचुलीलगायत हिमालहरूले घेरेको मनोरम हिमाली उपत्यका हो । अन्नपूर्ण सेन्चुरी भनिने यो उपत्यका पर्यटकको मुख्य रोजाइमा परेको छ । घान्द्रुक गाउँ यो उपत्यका प्रवेश गर्ने प्रवेशद्वार हो । यसका साथै कास्की र म्याग्दीको सिमानामा पर्ने घोरेपानीको गुराँसको जङ्गल विश्वकै ठूला गुराँसका जङ्गलमध्ये पर्दछ । यिनै प्राकृतिक सम्पदा र गुरुङ समुदायको मौलिक सांस्कृतिक परम्पराका कारण यहाँ बर्सेनि एक लाखभन्दा बढी विदेशी पर्यटक पदयात्राका लागि आउँछन् । पर्यटकलाई लक्षित गरी खुलेका होटल, रेस्टुरेन्टको सङ्ख्या ६८८ रहेको छ । ग्रामीण विकासका अन्य मापदण्डबाट हेर्दासमेत यो गाउँपालिका देशका अन्य पहाडी क्षेत्रका गाउँपालिकाभन्दा अग्रणी स्थानमा रहेको छ । यहाँका सबै बस्ती मोटर बाटोको सञ्जालले जोडिएका छन् । यस पालिकाको साक्षरता दर ९० प्रतिशत छ । यहाँका ९६ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध छ भने ९८ प्रतिशत जनसङ्ख्यालाई विद्युत् सेवा पुगेको छ । गाउँपालिकाको तल्लो भेगमा पर्याप्त खेतीयोग्य जमिन र सघन बसोवास रहेको छ । यहाँको नाउडाँडा दुग्ध उत्पादक सहकारी संस्था नेपालमा दोस्रो धेरै दूध उत्पादन गर्ने सहकारी संस्था हो ।
मोटर बाटोका कारण पदयात्रा मार्ग बिस्तारै विस्थापित हुँदै गएका छन् । यी मार्ग संरक्षणका लागि कानुनी व्यवस्था हुन सकेको छैन । पदयात्रा मार्ग छोट्टिएसँगै पर्यटकको बसाइ अवधि पनि घटेको छ । पर्यटक सीमित स्थानमा मात्रै केन्द्रित भएका छन् । यसले पर्यटनको लाभ सीमित ठाउँका व्यवसायीले मात्रै पाएका छन् । पर्यटकले मन पराउने ढुङ्गाको छानो भएका पुराना गाउँले घरहरू मासिँदै गएर तिनको स्थानमा ढलान घरहरूले लिएका छन् । गाउँको मौलिकपन गुम्दै गएकाले त्यसको असर पर्यटनमा देखिएको छ । हुनेखानेहरू सुविधाको खोजीमा बसाइँ सर्दा गाउँ रित्तिँदै गएका छन् । विद्यालयस्तरको शिक्षा स्तरीय नहुनाले यो समस्या देखिएको हो ।
गाउँपालिकाभित्र वि.सं. २०६८ को राष्ट्रिय जनगणनामा ६,०२९ घरधुरी रहेकोमा वि.सं. २०७८ को प्रारम्भिक जनगणनामा ५,८११ घरधुरी मात्र रहेको छ । जनसङ्ख्या घटेर २३,४१७ बाट २२,५१७ पुगेको छ । घट्दो जन्मदरका कारण औसत परिवार सङ्ख्या ३.८८ रहेको छ । घट्दो जन्मदर, बसाइँसराइ र वैदेशिक रोजगारीका कारण खेतीपातीमा संलग्न जनशक्ति घट्दै छन् । फलस्वरूप यहाँको करिब ३० प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कुल जनसङ्ख्याको ३१ प्रतिशत हिस्सा ओगटेका विश्वकर्मा, दर्जी, सार्की भनिने शिल्पी समुदायको खेतीयोग्य जमिन, सरकारी जागिर, पर्यटन व्यवसायमा पहुँच कम रहेको छ । उनीहरूमा रहेको सीपको बजारीकरण गर्न सकिएको छैन ।
अन्नपूर्ण गाउँपालिकाको माथिल्लो भाग अन्नपूर्ण संरक्षण क्षेत्रका रूपमा तथा तल्लो भाग फेवातालको जलाधार क्षेत्र र पञ्चासे संरक्षित वनका रूपमा व्यवस्थापन गरिएको छ । बागलुङ–पोखरा राजमार्गको २४ किलोमिटर खण्ड यसै गाउँपालिकाभित्र पर्छ । मुक्तिनाथ जाने तीर्थयात्री यही बाटो भएर जाने आउने गर्दछन् । पोखराबाट तीन दिनको पैदल यात्रामा अन्नपूर्ण सेन्चुरीको भ्रमण गर्न सकिने हुँदा यस ठाउँको महìव बर्सेनि बढ्दै गएको छ । यो गाउँपालिका पोखरा, कुस्मा, बागलुङ र बेनी बजारको बीचमा रहेको हुँदा पदयात्रा पर्यटन एवं ग्रामीण पर्यटनबाट अझै बढी समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेको छ । यसैलाई दृष्टिगत गरी पोखरा–बागलुङ राजमार्गको निर्माणपछि विस्थापित तल्लो भेगका पर्यटन व्यवसायीले ग्रामीण पर्यटन प्रवद्र्धनका नयाँ कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिसँग माग राखेका छन् ।
पैदल बाटोमा ढुङ्गा छापेर बनाइएका सिँढी, वर, पीपल, समी र लाकुरीका रुखलाई घेरेर बनाइएका चौतारा, छपनी छापेका आँगन र ढुङ्गाले छाएका घर यहाँका विशेषता हुन् । यस्ता विशेषतालाई जोगाइराख्न गाउँपालिकाबाट भवन आचारसंहिता तयार गरी लागू गर्नुपर्छ । मोटरबाटोका कारण पदयात्रा मार्ग मासिँदै गएकाले कानुनी संरक्षण प्रदान गर्नुपर्ने आवाज पनि उठेको छ । पोखराको नजिकै रहेको हुँदा प्राणी उद्यान अर्थात् चिडियाखाना स्थापना गरेर पोखराका सहरी जनसङ्ख्यालाई मनोरञ्जन प्रदान गर्न सम्भाव्यता अध्ययन गर्नुपर्ने छलफल चलेको छ । त्यसैगरी गाउँपालिकाको पहिचानका रूपमा अन्नपूर्ण माताको मन्दिर निर्माण गर्न‘पर्ने माग उठेको छ । नयाँ पुस्तामा जन्म दिन मनाउने संस्कृति हावी हुँदै गएको हुँदा अष्टचिरञ्जीवीको आकर्षक मन्दिर निर्माण गरेमा भारतीय पर्यटकलाई समेत आकर्षित गर्न सकिने देखिन्छ ।
मोटरबाटोका कारण नाउडाँडा, काँडे, लुम्ले, चन्द्रकोटको गुमेको पर्यटन व्यवसायलाई पुनस्र्थापना गर्नसमेत यस्ता पर्यटकीय पूर्वाधार बनाउन जरुरी छ । यहाँको विकासको प्राथमिकता ग्रामीण क्षेत्रलाई पर्यटन बजारसँग जोड्ने हुनुपर्दछ भन्नेमा सबैको सहमति छ । यसो गर्न सके मात्रै गाउँघरमा चहलपहल बढ्न गई रैथाने कृषि उत्पादनले बजार पाउने छन् । गाउँबाट हुने बसाइँसराइलाई रोक्न सकिनेछ र बाँझो खेतबारीमा खेती गर्न सकिनेछ । यी सबै कार्य गर्न पुँजीको अभाव छ । गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन प्रमुख पर्यटकीय स्थलहरूमा गाउँपालिकाको लगानीमा होटलहरू निर्माण गरी भाडामा लगाउनुपर्ने सुझाव प्राप्त भएको छ । आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले एक करोड सत्र लाख पैँतीस हजार रुपियाँ आम्दानी गरेको छ । यो आम्दानीको २१ प्रतिशत सिफारिस दस्तुर रहेको छ । गाउँपालिकामा उपलब्ध प्राकृतिक एवं मानवीय स्रोतको उचित परिचालन गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।