गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ९ गते । सरकारले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गरेको छ । अध्यागमन विभागले हाल समूहमा मात्रै पदयात्रामा जान पाइने व्यवस्था रहेको १३ जिल्लाका १५ वटा निषेधित क्षेत्रमा अब विदेशी पर्यटकले विभागबाट अनुमति लिएर एक जना पथप्रदर्शकसहित पदयात्रामा जान पाउने व्यवस्था गरेको हो ।
विभागका प्रवक्ता टीकाराम ढकालले भन्नुभयो, “हाल विदेशी नागरिकले सरकारले तोकेका निषेधित क्षेत्रका पदयात्रामा जाँदा कम्तीमा सात जना रहनुपर्ने व्यवस्था रहेकोमा उक्त व्यवस्थाका कारण पर्यटकको समय र साझेदार व्यवस्थापनमा हुने झन्झट हटाउँदै एक जना पर्यटकले एक जना पथप्रदर्शक लगेर जान सकिने व्यवस्थामार्फत पदयात्रालाई व्यवस्थित र सहजीकरण गरिएको छ ।”
निषेधित क्षेत्रको पदयात्रालाई सुरक्षित बनाउन अब एक पथप्रदर्शकको नेतृत्वमा एक समूहमा सात जना मात्रै विदेशी पर्यटक पदयात्रामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि ट्रेकिङ एजेन्सीले एक जना पथप्रदर्शकको नेतृत्वमा सात जनाभन्दा धेरै जति पनि विदेशी पर्यटकलाई पदयात्रामा सहभागी गराउँदै आएका थिए । एक समूहमा ठुलो सङ्ख्यामा पदयात्री निषेधित क्षेत्रमा पदयात्रामा जाँदा पदयात्रीको सुरक्षामा पर्याप्त ध्यान दिन नसकिने, एक जना पथप्रदर्शकबाट पदयात्रीका गतिविधि निगरानीमा गर्न नसकिनेलगायत सुरक्षाका कारण अब एक समूहमा सात जना मात्रै विदेशी पर्यटक रहने व्यवस्था गरिएको छ ।
यसअघि विदेशी पर्यटकले आफ्नै मुलुकबाट पदयात्राको अनुमतिका लागि आवेदन दिँदा नेपालको स्वीकृत भिसा नम्बर प्रविष्ट गर्नुपर्ने प्रणालीगत व्यवस्थालाई पुनरवलोकन गर्दै विभागले अब भिसा आवेदन नम्बरका आधारमा मात्रै पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
विभागले यसअघि गत मङ्सिरदेखि निषेधित क्षेत्र अन्तर्गत रहेको उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकले पदयात्रा गरेको समयावधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा तिरे हुने व्यवस्था गरेको छ । उक्त क्षेत्रमा प्रवेश गर्न प्रतिविदेशी पर्यटकले पाँच सय अमेरिकी डलर तथा १० दिनभन्दा बढी भ्रमण गरे प्रतिदिन थप ५० अमेरिकी डलरका दरले शुल्क तिर्दै आएकामा अहिले उक्त विभागले उक्त प्रावधान हटाएर पर्यटकको बसाइका आधारमा प्रतिदिन ५० डलर मात्रै शुल्क लिने व्यवस्था गरिएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङमा विदेशी पर्यटकलाई शुल्क तिरेर घुम्न पाउने सुविधा दिँदै आएको हो ।