• १६ भदौ २०८१, आइतबार

सिनेमाघरमा चार चलचित्र

blog

काठमाडौँ, भदौ २५ गते । नेपाली सिनेमाघरमा दुई नेपाली चलचित्र र दुई भारतीय चलचित्र प्रदर्शनमा आएका छन्। ‘ऐना झ्यालको पुतली’  ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ प्रदर्शन भएका हुन्। 

सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ। चलचित्रले बाल्यकाल र बाल्य अवस्थासँग जोडिएका विभिन्न स्मृतिका कथा पनि बताउँछ। चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो। चलचित्रमा भने सिरु विष्टसँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको छ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको  चलचित्र हो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ । समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय रहेको फिल्म प्रदीप शाहीले निर्देशन गरेका हुन्। चलचित्रको कथा निर्देशक शाही आफैँले लेख्नुभएको हो। चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताका रूपमा हुनुहुन्छ भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहनुभएको छ।

यस्तै भारतीय चलचित्र ‘ब्रह्मास्त्र’मा रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन मुख्य भूमिकामा देखिनुभएको छ। आयन मुखर्जी निर्देशित चलचित्रले प्रेम र पहिचानको यात्रामा निस्किएको शिव नामक पात्रको कथा भन्छ। दक्षिण भारतीय चलचित्र ‘सीता रामम’ लाई हनु रागभापुदी निर्देशन गर्नुभएको हो। राम र सीताबीचको मायाप्रेम नै चलचित्रको मुख्य विषय हो। रामलाई सीताको पत्र प्राप्त भएपछि उसको जीवनमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा चलचित्रमा देखाइएको छ। चलचित्रमा दुलकेयर सलमान, मुरनल ठाकुर, रश्मिका मन्दनालगायतको अभिनय रहेको छ।