• १३ साउन २०८१, आइतबार

स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी

blog

नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी । तस्विर– मीना कँडेल

मीना कँडेल

कावासोती, भदौ २२ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी पुगेका छन् । 

देवचुली नगरपालिकाभित्र रहेका करिब तीन हजार तीन सय जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि यतिबेला स्वास्थ्यकर्मीहरू घरमै पुगेका छन् । 

नगरपालिकाले देवचुलीका १७ वटै वडामा ज्येष्ठ नागरिकहरूलाई घरमै पुगी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण र औषधि उपचार गरिरहेका छन् ।

घरमै स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरू आएपछि ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । नगरपालिकाको यस्ताे कार्यलाई निरन्तरता दिन स्थानीयले आग्रह गरेका छन् ।

स्वास्थ्य परीक्षणमा बिरामीको ब्लड प्रेसर, शरीरको तापक्रम, नाडी तथा मुटुको धड्कन, सुगर परीक्षणलगायत निःशुल्क औषधि उपलब्ध गराइएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।