• ११ असोज २०८१, शुक्रबार

झापाबाट उम्मेदवार सिफारिस हुनेमा राजनीतिक दलका पदाधिकारी र पूर्व मन्त्री धेरै

blog

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २२ गते । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरूले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरू राजनीतिक दलका पदाधिकारी तथा पूर्वमन्त्रीहरूको सङ्ख्या उल्लेख्य छ ।

नेकपा माओवादी केन्द्रले झापाको क्षेत्र नं. १ बाट पार्टी उपमहासचिव एवं पूर्व मन्त्री राम कार्कीलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा सिफारिस गरेको छ । उहाँ हाल पनि यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहनुभएको छ । यस क्षेत्रबाट यसभन्दा अघि नेपाली काँग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई सर्वसम्मत सिफारिस गरेको थियो । 

नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य समेत रहेका संविधान सभा सदस्य रविन कोइरालाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । प्रमुख तीन राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रले यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपमा नाम सिफारिस गरेका छन् ।

झापाको क्षेत्र नं. २ मा पनि पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्रीहरू प्रतिनिधि सभामा सिफारिस भएका छन् । नेकपा एमालेबाट मन्त्री समेत भइसकेका पूर्व महान्यायाधिवक्ता अग्नि खरेल, एमालेको प्रदेश १ इन्चार्ज देवराज घिमिरे, अहिले पनि प्रतिनिधि सभा सदस्य रहनु भएकी अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल सहितको नाम प्रतिनिधि सभा सदस्य सिफारिस भएको छ ।

नेपाली काँग्रेसले पनि यहाँ प्रभावशाली नेताहरूको नाम सिफारिस गरेको छ । पूर्व मन्त्री एवं काँग्रेस नेतृ सरिता प्रसाईँ, पूर्व मन्त्री केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटीलगायतको नाम काँग्रेसले सिफारिस गरेको हो । क्षेत्रीय कमिटीबाट आएको नाम जस्ताको त्यस्तै प्रदेश कमिटीमा पठाइएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताउनुभयो । 

क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकल नाम उक्त पाटीको क्षेत्रीय समितिले सिफारिस गरेको छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नाम सिफारिस गरेको छ । लिङ्देनले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनु भएको छ ।

यस क्षेत्रमा नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहितको नाम प्रतिनिधि सभा सदस्यमा सिफारिस गरेको छ ।

झापाको क्षेत्र नं. ५ बाट नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसम्मत सिफारिस गरेको छ । नेपाली काँग्रेसले पहिलो संविधान सभा निर्वाचनमा ओलीलाई हराउने विश्व दीप लिङ्देन, समानुपातिक तर्फबाट हाल प्रतिनिधिसभा सदस्य रहनुभएका महेन्द्रकुमारी सुब्बा, अघिल्लो निर्वाचनमा ओलीसँग प्रतिस्पर्धी रहनुभएका खगेन्द्र पाण्डव अधिकारी सहितको नाम सिफारिस गरेको छ ।

झापाको क्षेत्र नं. ४ बाट नेकपा एमालेले हाल प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवा, १ नम्बर प्रदेशका पूर्व मन्त्री हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका पूर्व प्रमुख चन्द्रकुमार शेर्पा सहितको नाम सिफारिस गरेको छ । यस क्षेत्रमा नेपाली काँग्रेसले सर्वसम्मत रूपमा जिल्ला पार्टी अध्यक्ष देउकुमार थेवेको एकल नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको नाम सिफारिस गरेर माथिल्लो तहमा पठाएको छ  । माओवादी केन्द्र र राप्रपा नेपालले भने उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम सकेको छैन । आफूहरू छलफल र प्रक्रियामा रहेको माओवादी  केन्द्रका नेता गगन पुरीले बताउनुभयो ।