• १० साउन २०८२, शनिबार

बागलुङमा आयुर्वेद चिकित्सा सेवा लिनेको सङ्ख्या वृद्धि

blog

बागलुङ नगरपालिका वडा नम्बर २ स्थित धौलागिरी आयुर्वेद अस्पताल बागलुङको आफ्नै भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), साउन  १०  गते ।
बदिलदो जीवनशैलीका कारण पछिल्लो समय आयुर्वेद चिकित्साको खोजी भइरहेको पाइन्छ । अस्वस्थकर खानपान, शारिरिक व्यायम नगर्नु, मोटोपना लगायतका कारण नसर्ने रोग बढ्न थालेपछि नागरिकको चासो आयुर्वेद तर्फ बढ्न थालेको पाइएको छ ।

स्वस्थ जीवनका लागि खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउनका लागि आयुर्वेद चिकित्सा उत्तम भएका कारण पछिल्लो समय आयुर्वेद अस्पताल आउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

धौलागिरी आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धिभएपछि अस्पताल स्तरोन्नती भएर अन्तर्गत सेवा समेत दिन थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकोमा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. सरद पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको सङ्ख्यालाई हेर्दा वर्षेनी विरामीको सङ्ख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ । गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौ वटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा आएको विरामीको सङ्ख्या ३० हजार ४७८ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ ।

आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइराखेको र आयुर्वेद औषधी उपचारमा नागरिकको भरोषा बढ्दै गएका कारण विरामीको सङ्ख्यामा वृद्धि भएको पन्थीको भनाइ छ ।

“अहिले जिल्लाको धौलागिरी आयुर्वेद अस्पतलालाई स्तरोन्नती गरी २५ शय्याको अन्तर्गत अस्पतालमा विकास गरेपनि भौतिक पूर्वाधारको अभावमा ८ शय्याबाट एक महिनादेखि सेवा दिन थालिएको छ” डा. पन्थीले भन्नुभयो “हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगहरुको निम्त्याईरहको छौँ खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा हामीले आफुलाई स्वस्थ बनाउन सक्छौं,  शरिरका लागि आवश्यक पर्ने पौष्टिक तत्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वस्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धती रोगको जरा सम्म पुग्ने उपचार पद्धती रहेकाले नागरिकको भरोषा बढ्दै गएको छ ।”

गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसीले पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताउँदै आयुर्वेद जीवनशैली अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अर्गानिक खाना खाने र नियमित योग तथा शारिरिक अभ्यासले नागरिकलाई स्वस्थ बनाउने बताउनुभयो । उहाँले सन् २०१९ मा गरेको अध्ययनले नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या ७१ प्रतिशत पुगेको बताउनुभयो ।

“सन् १९९० मा सर्ने रोगका कारणमा मृत्यु हुनेको संख्या बढि थियो, नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ, आहार बिहार र जीवनशैलीका कारण तथ्याङ्क बढ्दै गएको हो” केसीले भन्नुभयो “स्वस्थ र अर्गानिक खानेकुरा खाने र नियमित शारिरिक व्यायमले नसर्ने रोगबाट बचाउन सकिन्छ ।”

मानिसको अल्छीपनले गर्दा मोटोपन बढ्दै गएको र यसले रोग निम्त्याउने गरेको केसीले बताउनुभयो । धुम्रपान, मद्यपान, प्रशोधित तेल, चिनी तथा धेरै नुन र अनावश्यक चिल्लोको सेवनले स्वास्थ्यमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।