• १० साउन २०८२, शनिबार

रतनपुर सिमसारमा दुर्लभ सारस

blog

रतनपुर सिमसारमा रमाइरहेका सारस । तस्बिर सौजन्य : कुलराज चौधरी

अविनाश चौधरी
धनगढी, साउन १० गते ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेका सिमसारहरुमा दुर्लभ सारसको उपस्थिति राम्रो रहेको पाइएको छ । रतनपुर, पुरैनी ताल, नकैया लगायतका सिमसारहरुमा सारसको उपस्थिति राम्रो र नियमित रहेको पाइएको हो । पछिल्लो समय बेल्डाँडी गाउँपालिका–५ को रतनपुर सिमसारमा १३ वटा सारस देखा परेका छन् ।

रतनपुर सिमसारको दलदलमा ती सारसहरु देखिएको वाइल्डलाइफ फोटोग्राफर कुलराज चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सारस धेरै देखिए । तर निकै टाढा थिए ।”

रतनपुर सिमसारमा सारसले बच्चा कोरल्ने गरेको दाबी गरिएको छ । गतवर्ष स्थानीयले सारसको एउटा बच्चा देखेका थिए । त्यस सिमसारमा सारसले यसवर्ष पनि ब्रिडिङ गरेको हुन सक्ने चराविद हिरुलाल डङ्गौराले बताउनुभयो । “अहिले सारसको ब्रिडिङ सिजन हो । रतनपुरमा यसवर्ष पनि ब्रिडिङ गरेको हुन सक्छन्”, उहाँले भन्नुभयो,“तर ठुलो क्षेत्रमा दलदल रहेकाले गुँड भेटिएको छैन ।”

यसअघि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालको दक्षिणतिर २२ वटा सारस देखिएका थिए । रतनपुर सिमसारमा अहिले देखा परेको १३ सारस दोस्रो बढी सङ्ख्या रहेको जनाइएको छ । बर्दिया र कैलालीको तुलनामा कञ्चनपुरमा सारसको उपस्थिति राम्रो रहेको चराविद डङ्गौराले बताउनुभयो । उहाँले यो जिल्लाको विभिन्न सिमसारमा सारसहरु देखा परिरहेका जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खे लगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका बताइएको छ । यसैगरी, बाघ, चितुवा जस्ता हिंस्रक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने गरेको जनाइएको छ ।

खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिँदै गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको डङ्गौराले बताउनुभयो । बासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिदैं जानू नै सारसको लागि प्रमुख चुनौती बन्दै गएको उहाँको भनाइ छ ।

नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा सारसको उपस्थिति सबैभन्दा बढी रहेको छ ।