• ७ जेठ २०८१, सोमबार

जापानी नागरिक काकिमीले चौरासी पूजा गर्ने

blog

जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’ । तस्बिर –रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ २० गते । तीन दशकदेखि जिल्लाको विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहनुभएका जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाज’ले चौरासी पूजा आफ्नो कर्मथलो पाल्पामै गर्ने हुनुभएको छ ।

लामो समय आफूले पाल्पामै काम गरेकाले आफूले नेपाली संस्कारअनुसार चौरासी पूजा कर्मथलो पाल्पामै गर्ने बताउनुभएको हो । 

जिल्लाको शिक्षा, स्वास्थ्य, विपन्न तथा महिलाको आयआर्जनका लागि आर्थिक सहयोग गर्दै आउनुभएका काकिमीले पाल्पाली जनताको सेवा गरेर आफूले ८४ वर्ष टेक्न सफल भएको बताउनुभयो ।

‘मैले मेरो जीवनको सबैभन्दा उर्जाशील समय पाल्पामै खर्चिएको छु, त्यसैले नेपाली संस्कारअनुसार मेरो चौरासी पूजा पाल्पामै गर्छु ।’ काकिमीले आफू आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ तारिखका दिन चौरासी वर्ष पूरा हुने र सोही दिन चौरासी पूरा गर्ने बताउनुभयो । 

काकिमीको चौरासी पूजाका लागि जिल्लाको रामपुरमा ४५ सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ ।