• १३ साउन २०८१, आइतबार

प्रयोग भएन विद्यालय भवन

blog

फाइल तस्बिर

कोल्टी समाचारदाता

कोल्टी (बाजुरा), भदौ २० गते । बूढीनन्दा नगरपालिका ४ को कुरुमा २०७३ सालमै निर्माण भएको दुईतले पक्की भवन प्रयोग गरिएको छैन। देवडाँडा माध्यमिक विद्यालयका लागि जिल्ला शिक्षा कार्यालयको ३२ लाख रुपियाँको लागतमा २०७३ सालमा सो भवन निर्माण गरिएको हो। 

विद्यालय प्रयोजनका लागि भवन निर्माण भए पनि प्रयोगमा नआउँदा स्थानीयवासीको घाँस राख्ने धनसार भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रङ्गवीर रोकायाका अनुसार भवन निर्माणका क्रममा एकलौटी भएको भन्दै स्थानीयवासीबीच विवाद हुँदा सञ्चालनमा ल्याउन कठिनाइ भएको हो। विवाद र भवनका सबै संरचना बन्न नसक्दा विद्यालयमा माध्यमिक तह चलाउने स्वीकृति प्राप्त हुन नसकेको बताइन्छ। यद्यपि आधारभूत तहका विद्यार्थी जीर्ण भवनमा पठनपाठन गरिरहेका छन्।  

भवन निर्माण उपभोक्ता समिति अध्यक्ष बलबहादुर रोकायाले एकलौटी रूपमा भवन निर्माण गरेको भन्दै स्थानीयवासीबीच विवाद हुँदा सो भवनमा कक्षा सञ्चालनमा हुन नसकेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले सहोदर दाइ बलबहादुर रोकायालाई निर्माण समिति अध्यक्ष बनाई भवन निर्माणको जिम्मा दिएको स्थानीयवासीको आरोप छ। 

समावेशीका आधारमा उपभोक्ता समिति गठन गरेर समुदायको सरसल्लाहमा भवन निर्माण गरिनुपर्ने भए पनि रोकाया दाजुभाइले मनोमानी तरिकाले जग्गा खरिद र भवन निर्माण गरेको स्थानीयवासीको आरोप छ। 

सहमतिबिना एकलौटी रूपमा जग्गा खरिद र भवन निर्माण भएको भन्दै स्थानीयवासीबीच विवाद हुँदा विद्यालयको निर्माण भएको भवन नै अलपत्र अवस्थामा रहेको बाजुराको बूढीनन्दा नगरपालिका–४ का अध्यक्ष जुल्फे रोकायाले बताउनुभयो। 

कुरुमा अर्काे माध्यमिक विद्यालय नभएको र भएको विद्यालय पनि सञ्चालन गर्न नसक्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको उहाँले बताउनुभयो। रोकायाद्वय दाजुभाइले भने भवन निर्माणमा एकलौटी नभएको दाबी गर्दै स्थानीयवासीको सहमतिका आधारमा निर्माण समिति गठन भएर भवन निर्माण भएको बताउनुभयो।