• १२ असोज २०८१, शनिबार

उम्मेदवार छनोटमा दलहरू व्यस्त

blog

दैलेख समाचारदाता

दैलेख, भदौ १९ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरू उम्मेदवार छनोटमा व्यस्त भएका छन्। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्लामा रहेका प्रमुख पार्टीहरू नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दल उम्मेदवार छनोट र सिफारिस गर्न व्यस्त भएका हुन्।

शनिबारसम्म नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार टुङ्गो लगाएका छन्। नेपाली कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। कांग्रेसले दिएको जानकारीअनुसार पार्टी सभापति मणिराम रेग्मी, रवीन्द्र श्रेष्ठ, मीनाकुमारी थापा, गणेश उपाध्याय र खगेन्द्र सुनारको नाम सिफारिस गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क)मा पूर्णबहादुर खत्री, नरसिंह मल्ल, कृष्णकुमार बिसी, डा. खगेन्द्र शाही र बमबहादुर बीसी सिफारिसमा पर्नुभएको छ। प्रदेश (ख)मा भूपेन्द्र शाही, भदे बुढामगर, टेकबहादुर कटुवाल, झलक भण्डारी, प्रकाश पौड्याल, देवेन्द्र थापा, वासना थापा, मनोज थापा र खेमराज केसीको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा समानुपातिक सदस्यमा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्का र कुलबहादुर विकको नाम सिफारिस भएको छ। 

कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ ऐकेन्द्रबहादुर पन्त, दिक्पालकुमार शाही, मधुविक्रम खनाल, रङ्गबहादुर शाही र शिवराज जोशी गरी पाँच जनाको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ केन्द्रीय सदस्यसमेत रहनुभएकी सीताकुमारी राना सिफारिस हुनुभएको छ। उहाँ महिला जनजातितर्फ सिफारिस हुनुभएको हो। यस्तै, प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ नै नरबहादुर खड्का पनि सिफारिस हुनुभएको छ। 

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट प्रत्यक्षतर्फ घनश्याम भण्डारी, झक्क विष्ट, धीरेन्द्रप्रसाद सापकोटा, प्रकाशमान भण्डारी र मातृकाप्रसाद रिजाललाई सिफारिस गरिएको छ। दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’बाट प्रत्यक्षतर्फ ईश्वरबहादुर विष्ट, कृष्णप्रसाद जैसी, गणेशबहादुर शाही, पृथ्वीबहादुर शाही, नारायणप्रसाद रेग्मी, वासुदेव शर्मा, भूपेन्द्रबहादुर शाही, लीलाराम उपाध्याय, शेरबहादुर शाही र सर्पराज शाही सिफारिसमा पर्नुभएको छ।

एकीकृत समाजवादीले निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि अम्मरबहादुर थापा, टेकबहादुर खाण, पार्वती विशुन्केको नाम सिफारिस गरेको छ। निर्वाचन क्षेत्र १ को (क) प्रदेशबाट मायाराम अधिकारी प्रत्यक्ष र समानुपातिकमा रामसरा रेग्मी, भवानीप्रसाद ज्ञवाली निर्वाचन क्षेत्र १ को (ख) प्रदेशमा जङ्गबहादुर शाहीलाई प्रत्यक्ष र समानुपातिकमा सावित्री मल्ल, मनकुमारी नेपाली र प्रेमकुमारी बुढाको नाम सिफारिस गरेको छ। 

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा केशरसिंह माझीलाई सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा बरुनाथ योगी र (ख)मा गोकर्ण माझी, निरकबहादुर शाही र प्रेमा थापाको नाम सिफारिस गरेको छ। नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बरुनाथ योगीले जिल्ला कमिटीले सिफारिस गरेका नामहरू प्रदेश कमिटीमा पठाइएको जानकारी दिनुभयो। 

अघिल्लो प्रतिनिधि सभामा दुईवटै प्रतिनिधि सभा र तीनवटा प्रदेश निर्वाचन क्षेत्र जितेको नेकपा एमालेले भने उम्मेदवार अझै टुङ्गो लगाउन सकेको छैन। पार्टी केन्द्रको निर्देशनअनुसार भदौ २२ गतेसम्म उम्मेदवार छनोट गरी पठाउने तयारी गरेको नेकपा एमाले दैलेखले जानकारी दिएको छ। नेकपा एमाले दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार छनोट सर्वसम्मत रूपमा गर्ने तयारी गरिएको बताउनुभयो।