• ७ मंसिर २०८१, शुक्रबार

शैक्षिक सुधारको बहस

blog

कक्षा १२ विद्यालय तहको अन्तिम खुट्किलो हो। यसले विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्छ। शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक भयो। सार्वजनिक नतिजाअनुरूप जम्मा ४८ प्रतिशत मात्र समग्र रूपमा उत्तीर्ण भएका छन्। गत जेठ १६ गतदेखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित, ग्रेडवृद्धि तथा आंशिकसमेत गरेर झन्डै चार लाख विद्यार्थी सामेल भएका थिए। शुक्रबार सार्वजनिक नतिजाअनुसार झन्डै ५८ हजार विद्यार्थी अघिल्लो चरणको अध्ययन अर्थात् स्नातक तहको अध्ययन गर्न सक्षम हुने छैनन्। साथै उनीहरूले ग्रेडवृद्धिसम्बन्धी परीक्षामा समेत सहभागी हुन पाउने छैनन्। सार्वजनिक यो नतिजाले मुलुकको पठनपाठनको अवस्थाका सम्बन्धमा गम्भीर चिन्ता र चासो उत्पन्न गरेको छ। छलफल र बहसको नयाँ शृङ्खला नै आरम्भ गर्नुपर्ने आवश्यकता औँल्याएको छ।


नयाँ नतिजाबाट शिक्षा क्षेत्रमा भएको राज्य, अभिभावक र विद्यार्थीको ठूलो लगानीको सदुपयोग हुन नसकेको अर्थमा बुझिनुपर्दछ। यो सानो नोक्सानि होइन। दुई लाखको हारहारीको सङ्ख्यामा कक्षा १२ का विद्यार्थीहरू ‘ननग्रेडेड’ तहमा परेको पाइनु आफैँमा दुःखलाग्दो विषय हो। कठिन मेहनतपछि पनि विद्यार्थीले परीक्षामा ३५ प्रतिशतभन्दा बढी अङ्क ल्याउन असक्षम हुनु चिन्ताजनक अवस्था हो। परीक्षामा सामेल झन्डै आधा विद्यार्थीले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याइनुले हाम्रो उच्च माध्यमिक शैक्षिक प्रणालीको गुणस्तरीयतामा निकै ठूलो प्रश्न चिह्न लगाएको छ। यसबाट विद्यार्थीको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पर्ने मात्र होइन, अभिभावकले दुःखजिलो तवरले आफ्ना सन्ततिको उच्च शिक्षाका निम्ति गरेको प्रयासमा ठूलो धोका भएको छ। आठवटा ग्रेडमा वर्गीकरण गरिएको कक्षा १२ को नतिजामा जीपीए ३.६१ देखि चार अर्थात् सर्वोत्तम श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या मुलुकभर जम्मा चार हजार मात्र हुनुले पनि वर्तमान शैक्षिक पठनपाठनको गुणस्तरलाई स्पष्ट रूपमा औँल्याएको मान्न सकिन्छ। यो परिमाणमा भएको कमीकमजोरीलाई अनुसन्धान तथा विश्लेषण गरिनु महत्त्वपूर्ण छ। नीतिगत, संस्थागत र संरचनागत अध्ययन र विश्लेषण गरी सुधारका कदम चाल्नुपर्नेछ।

ग्रेड सुधारका निम्ति मौका परीक्षालगायत विभिन्न उपायको व्यवस्था गरिए पनि यो नतिजाले उच्च माध्यमिकस्तरीय पठनपाठन सुधारको आवश्यकतालाई टड्कारो रूपले उठाएको मान्नुपर्दछ। तुलनात्मक रूपमा विश्लेषण गरिँदा सहरबजारमा खोलिएका उच्च माध्यमिक विद्यालयका विद्यार्थीका नतिजा सहर बाहिरी क्षेत्रका विद्यालयका दाँजोमा निकै राम्रो देखिएको छ। यस अर्थमा दुर्गम तथा सहरी क्षेत्रका विद्यार्थीको शैक्षिक गुणस्तरको खाडल अझै चर्को अवस्था देखिन आउनेछ। विद्यार्थीमा सामाजिक तथा शैक्षिक असमानतासमेत देखिन थालेको छ। यो भोलिका निम्ति जोखिम हो। विद्यालय शिक्षालाई गुणस्तर र सबैका निम्ति पहुँचयोग्य बनाउनु राज्यको पहिलो दायित्व हो। 

गम्भीर चिन्ता तथा चासोको विषयमा आएको कक्षा १२ को नतिजा कुनै एक पक्षले सुधार गरेर मात्र हुनेछैन। यस सम्बन्धमा सम्बन्धित निकाय, विद्यालय, शिक्षक, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीको सहकार्य निकै महत्त्वपूर्ण देखिन आउँछ। एकातिर सरकारले राज्यकोषबाट शैक्षिक उन्नयनका लागि ठूलो मात्रामा आर्थिक लगानी गर्दै जाने र नतिजा त्यसको ठीक उल्टो देखिनु कसैका निम्ति पनि सन्तोषको विषय होइन, हुनेछैन। यस्तै विद्यालय तथा शिक्षकहरू आर्थिक प्रलोभनमा मात्र नपरी विद्यार्थीलाई उच्चतम शैक्षिक ज्ञानगुन तथा वातावरण उपलब्ध गराउनेतर्फ अग्रसर हुनैपर्ने आवश्यकता देखिएको छ। 

अहिलेको जस्तो खस्किँदो नतिजा कसरी सम्भव भयो भन्ने सम्बन्धमा शिक्षाविद्हरूले पनि चिन्ता र चासो लिएर आवश्यक नीति, योजना बनाउन सम्बन्धित पक्षलाई सघाउनुपर्ने आफ्नो गहन दायित्व बिर्सनु हुँदैन। यता अभिभावकले पनि आफ्ना सन्ततिका लागि उपयुक्त शैक्षिक वातावरण निर्माण तथा सुधारका लागि थप सक्रियता देखाउनु नै पर्ने अवस्था आवश्यक छ। विद्यार्थीले आफ्नो विद्यार्थी जीवनको महत्त्व तथा प्राथमिकतालाई ध्यानमा राखेर गुणस्तरीय शिक्षाका लागि विद्यालय, शिक्षक तथा स्वयं आफैँ पनि अग्रसर हुनुको विकल्प देखिँदैन। यी सबै पक्षको सहकार्य तथा समन्वय मुलुकको खस्किँदो शैक्षिक गुणस्तर उकास्न निकै महत्त्वपूर्ण कदम हुनेछ। शिक्षाको गुणस्तर सुधार्न तत्कालीन र दीर्घकालीन योजनामा बहस थाल्ने यो उपर्युक्त समय हो। नतिजा खस्किएको चिन्ता होइन, सुधारका निम्ति चिन्तन गर्ने बेला हो।