काठमाडौँ, साउन ६ गते । स्वास्थ्य बिमा बोर्डले बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको छ। बोर्डले सूचना प्रकाशित गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको हो ।
बोर्डका सूचना अधिकृत तथा जनस्वास्थ्य अधिकृत विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकको बीमा लेख नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित बनाउन स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नागरिकको बीमा लेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत भई साउन १ गते देखि कार्यान्वयनमा आएको छ ।
मल्लले बीमितले बीमालेख नवीकरण गर्न म्याद सकिनु भन्दा एक महिना अगावै विद्युतीय प्रणाली वा दर्ता सहयोगी मार्फत निवेदन दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आबद्ध लक्षित वर्गको हकमा विगतमा स्वतः नवीकरण हुँदै आएकोमा अब उप्रान्त स्वतः नवीकरण नहुने हुँदा तोकिए बमोजिमका कागजात सहित समय भित्र नवीकरण गर्नुपर्ने छ ।
बीमितले बीमालेखको म्याद गुजारी नवीकरण गरेमा अतिरिक्त शुल्क भुक्तानी गर्नु पर्नेछ । म्यादभित्र नवीकरण गरेमा सह भुक्तानीमा छुट सुविधा पाइने उहाँले जानकारी दिनुभयो ।