• ७ साउन २०८२, बुधबार

एमाले केन्द्रीय कमिटी बैठक

केन्द्रीय सदस्य र आयोग अध्यक्षले बोल्नेक्रम सकियो

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित मुख्यालयमा जारी रहेको नवौँ बैठकमा केन्द्रीय कमिटी बैठकमा सहभागी पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित मुख्यालयमा जारी रहेको नवौँ बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बोल्नेक्रम सकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आज एकसय ३१ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राख्नुभएको छ । केन्द्रीय सदस्यलाई तीन मिनेट धारणा राख्ने समय दिइएको थियो । हिजो र आज गरी एकसय ८० जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि सुझाव दिनुभएको उहाँको भनाइ छ । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार केन्द्रीय सदस्यहरूले धारणा राखेपछि अनुशासन आयोगको अध्यक्ष केशव वडाल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पनि प्रतिवेदनमाथि धारणा राख्नुभयो ।

बैठकमा उपाध्यक्ष पौडेलले विधान संशोधन र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । त्यसपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि कार्यक्रम सकिनेछ । 

आयोगका अध्यक्षहरूलाई बोल्नका लागि सात मिनेटको समय दिइएको थियो । केन्द्रीय कमिटी बैठकमा विधान संशोधनमा दुईसय ६४ वटा सुझाव सङ्कलन गरिएको छ। हिजो र आजको बैठकमा बोल्ने अधिकाङ्श केन्द्रीय सदस्यहरूले एमालेको ध्यान मिसन–८४ मा जानुपर्ने बताउनुभएको छ । उहाँहरूले त्यसका लागि केपी ओलीको नेतृत्वमा पार्टीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ । केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संशोधन प्रतिवेदन पारित गरेर पार्टीले तल्लो कमिटीमा थप सुझावका लागि पठाउने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।