सन्तोष दहित
दाङ, साउन ६ गते । दाङ तुलसीपुर उपमहानगरपालिका ११ सुकौेरास्थित दाङ ऐतिहासिक र सांस्कृतिक धरोहर दंगीशरण दरबार क्षेत्रको संरक्षण, विकासका लागि चार करोड रुपियाँको बजेट विनियोजन गरिएको छ।
थारु कल्याणकारीणी सभा क्षेत्र ३ र उद्योग वाणिज्य संघ तुलसीपुर दाङको संयुक्त आयोजनामा दंगीशरण दरबार क्षेत्रको संरक्षण, विकासको लागि विशेष छलफल कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीहादुर चौधरी दंगीशरण दरबारको विकासका लागि चार करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
दंगीशरण दरबार क्षेत्रको ऐतिहासिक महत्व, थारु समुदायको सांस्कृतिक पहिचान र पर्यटकीय सम्भावनालाई केन्द्रमा राखेर सरकारले उक्त वजेट विनियोजन गरेको उहाँको भनाइ छ । पूर्व मुख्यमन्त्री चौधरीले ऐतिहासिक महत्वको यो स्थानलाई संरक्षण गर्न र विकासको मूलधारमा जोड्न प्रभावकारी काम भएमा अझ थप रकम ल्याउन सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले संघीय सरकारबाट ३ करोड र प्रदेश सरकारबाट १ करोडको बजेट यसका लागि विनियोजन भइसकेको जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न संघ संस्था, थारु अगुवा, बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तित्वहरूको सहभागिता थियो।
यसैविच कार्यक्रममा दरबार संरक्षणको लागि स्थानीय जनकुलाल चौधरीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ। यस समितिले थारु राजा दङ्गिशरणसँग सम्बन्धित ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको संरक्षण, अध्ययन, प्रचारप्रसार र विकासको काममा खटिनेछ ।