• ४ साउन २०८२, आइतबार

हवाई दुर्घटना प्रतिवेदन

blog

विश्वमै सडक यातायातको तुलनामा हवाई यातायातलाई सुरक्षित र छिटो मानिन्छ । आरामदायी हवाई यातायात यात्रुको रोजाइमा पर्ने गरेको छ । अमेरिकी दाजुभाइ ओर्भिल र विल्भर राइटले सन् १९०३ डिसेम्बर १७ मा पहिलो पटक विमान उडाएसँगै सुरु भएको हवाई यात्रा अत्याधुनिक प्रविधियुक्त बनेको छ । आज हवाई यातायातबिनाको जीवन कल्पनासम्म पनि गर्न सकिँदैन । बेलाबखत हुने गरेका हवाई दुर्घटना सबैका लागि चिन्ता र चासोको विषय बनेको छ । हवाई यातायातलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने प्रयास जारी छ । विविध कारणले हवाई दुर्घटना हुने क्रम भने रोकिएको छैन । हवाई दुर्घटना भएपछि छानबिन समिति गठन गर्ने र प्रतिवेदन तयार गर्ने काम हुँदै आएको छ । नेपालमा हवाई दुर्घटना बढी हुने गरेका कारण देखाई युरोपेली सङ्घ (इयु) ले नेपाललाई कालोसूचीमा राखेको छ । सन् २०१३ देखि नेपालले हवाई सुरक्षाका लागि विभिन्न प्रयास गरे पनि कालोसूचीबाट हट्न सकेको छैन । 

२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा क्याप्टेन मनिष शाक्य भने बाँच्न सफल हुनुभएको थियो । विमान दुर्घटना भएकै दिन सरकारले नेपाल उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । विमानस्थलबाट सौर्य एयरको उक्त विमान मर्मतका लागि पोखरा उडेको थियो । उडेलगत्तै दुर्घटना परेको सो विमानबारे गठित छानबिन समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनी दुवैको कमजोरी देखिएको औँल्याइएको छ । दुर्घटनाको विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि तयार पारिएको प्रतिवेदनले सी चेकका लागि पोखरा उड्न लागेको जहाजमा पाइलट र कोपाइलटबाहेकलाई उडान अनुमति दिनु, प्राधिकरणको निरीक्षण क्षमतामा मानव संसाधनको कमी र प्रभावकारी अनुगमन तथा नियमनकारी कार्यमा कमजोरी रहेको औँल्याएको छ । त्यस्तै जहाजमा तौलको सन्तुलन नमिलाइएको, जहाजले तौल अनुसार उडानका बेला गति नलिएको, जहाजमा सामान राख्दा ती सामानलाई यताउता नसर्ने गरी बाँध्नुपर्ने मापदण्ड पूरा नगरेको, दुर्घटना हुनुभन्दा पहिले ३४ दिनसम्म जहाज ग्राउन्डेड अवस्थामा रहेको लगायतका कमजोरी प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले हतारमा उडानको तयारी गर्नु, प्राधिकरणले जहाजभित्र लुब्रिकेन्ट र कन्ट्याक्ट क्लिनर जस्ता ज्वलनशील पदार्थ बोकेर उडान भर्न अनुमति दिनु, दुर्घटनास्थलमा रहेका प्रमाणलाई सौर्य एयरलायन्सको कार्यालयमा पु¥याएर प्रमाण नष्ट गर्नेसम्मको लापरबाही भएको निष्कर्ष निकालेको छ । सुरक्षाका लागि सबै वायुसेवा प्रदायक कम्पनीलाई तत्काल आफ्ना स्पिड कार्ड र चार्टको समीक्षा गर्न सुझाव दिएको छ । 

आयोगका अध्यक्ष सुमनले हस्तान्तरण गरेको उक्त प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले कुनै पनि पूर्वाग्रह वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालयले त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुले यस विषयमा सरकार गम्भीर र संवेदनशील रहेको स्पष्ट हुन्छ । नेपालमा हालसम्म ६१ हवाई दुर्घटना ९१५ ले ज्यान गुमाएका छन् । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्याङ्क छ । २०७९ माघ १ गतेपछि नेपालमा मानवीय क्षति हुने गरी विमान दुर्घटना २०८१ साउन ९ गते भएको हो । २०७९ माघ १ मा यती एयरलाइन्सको एटिआर ७२ जहाज पोखरामा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो । आन्तरिक उडानमा अहिलेसम्मकै ठुलो क्षति भएको पनि यही दुर्घटनामा हो । सन् १९६० नोभेम्बर ५ मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुर्घटना हुँदा चार जनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका विमान छ पटक निरन्तर दुर्घटनामा परे । सन् १९६९ जुलाई १२ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिङ्गल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सन् २०१८ मे १६ मा मकालु एयरको विमान सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिङ्गल इन्जिन विमान उडानमा रोक लगाइएको थियो । अतः हवाई यातायातलाई सुरक्षित बनाउन सुरक्षाका सबै उपाय अवलम्बन गर्न सरोकारवाला सबै सचेत हुन जरुरी छ ।