• ३२ असार २०८२, बुधबार

सुधारतर्फ बाह्य सम्बन्ध

blog

नेपालको परराष्ट्र सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित छन् । नेपालले पञ्चशीलप्रति आस्थालाई अटुट निरन्तरता दिँदै बाह्य सम्बन्ध विस्तार गर्दै आएको छ । युद्ध तथा तनावपूर्ण विश्वको कतिपय धूमिल छायाँमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पञ्चशीलको विशिष्ट महत्व छ । नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति पञ्चशील सिद्धान्तकै आधारमा अगाडि बढ्नु गौरवको विषय हो । हुन पनि पञ्चशीलका सिद्धान्त पवित्र सम्बन्धको मूल आधार हो । कुनै एक मुलुकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान पञ्चशील सिद्धान्त हो र यसमा नेपाल प्रतिबद्ध छ । त्यसै गरी भौगोलिक रूपमा साना तथा ठुला जे जस्ता मुलुक भए पनि समान सार्वभौमिक सिद्धान्तलाई आत्मसात् गर्दै नेपालले बाह्य सम्बन्ध अगाडि बढाएको छ । मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले विश्व शान्तिका निम्ति योगदान दिइरहेको हुन्छ । नेपालको विश्वास सबै मुलुकबिच समानता र पारस्परिक हित कायम गर्ने दिशामा अग्रसर छ । कतिपय मुलुकले अरू मुलुकप्रति आक्रमण तथा हस्तक्षेप गर्दा विश्व शान्तिमा गम्भीर चुनौती सिर्जना भएका छन् । पञ्चशीलको मूल आधार अनाक्रमण हो । एक मुलुकले अर्को मुलुकविरुद्ध आक्रमण नगर्ने पञ्चशीलको सिद्धान्तले विश्व शान्तिमा ठुलो योगदान पु¥याउन सक्छ । यसका निम्ति सबै मुलुकले शान्तिपूर्ण सहअस्तित्वलाई आत्मसात् गर्नुपर्ने हुन्छ । शान्तिपूर्ण सहअस्तित्वको भावनालाई स्वीकार गर्ने नेपालको बाह्य सम्बन्ध समृद्ध र शान्तिपूर्ण विश्व लक्ष्यलाई योगदान दिन अग्रसर छ ।

नेपालले यताका वर्षमा देशको छवि उच्च बनाउँदै बाह्य सम्बन्धलाई अझ सुधार र विस्तार गर्दै गएको देखिन्छ । परराष्ट्रमन्त्री डा. आरजु राणा वैश्विक कूटनीतिको आबद्धताको आयामलाई फराकिलो पार्दै नेपालको बाह्य सम्बन्धलाई फराकिलो बनाउँदै लैजान क्रियाशील देखिनुभएको छ । त्यस क्रममा छिमेकी सम्बन्धमा अझ सन्तुलन कायम गर्दै विश्वमञ्चमा आफ्ना कार्यसूची स्थापित गर्दै लगेको छ । गत जेठको पहिलो साता देशभित्रै सगरमाथा संवाद आयोजना गरी विश्व समाजलाई नयाँ सन्देश दिएको छ । सो संवादका माध्यमबाट जलवायु परिवर्तनका असर न्यूनीकरणमा विश्वलाई नै कूटनीतिक नेतृत्व दिनसमेत नेपालले अग्रता लिएको छ । यो एक वर्षमा नेपालले उच्चस्तरीय भ्रमणलाई सफलतापूर्वक निरन्तरता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन, स्पेनलगायतका मुलुकमा हुन पुगेको भ्रमण क्रममा विश्व मञ्चमा नेपालका कार्यसूचीले उच्च महत्व पाएको छ । उच्चस्तरीय भ्रमणलाई सफल बनाउन तथा देशको समग्र हितका निम्ति परराष्ट्रमन्त्री राणाले बाह्य समकक्षीसितका भेटवार्तालाई समेत राम्रो गरी सदुपयोग गर्नुभएको छ । कूटनीति भन्नु सकारात्मक सोच, चिन्तन र विश्वासमा अगाडि बढाउने कार्यमूलक विधा हो । देशको आर्थिक, सामाजिक, सांस्कृतिक हितलाई सर्वोपरि मान्दै अगाडि बढाउने सम्बन्धका आयामले नेपालको समृद्धिलाई टेवा पु¥याउने छ । भूपरिवेष्टित देश नेपाललाई खुला र उदार सम्बन्धका माध्यमबाट दुई विशाल अर्थतन्त्रतर्फ अग्रसर भारत र चीनको समृद्धिबाट लाभ पाउने अवस्थातर्फ केन्द्रित गर्दै लैजानु आवश्यक छ । त्यसका निम्ति व्यापार र लगानीको नयाँ क्षेत्र पहिल्याउँदै देशभित्रै रोजगार विस्तार गरिनुपर्ने आवश्यकतालाई परिपूर्ति गरिनु पर्छ ।

भनिन्छ, विदेश नीति भनेको घरेलु नीतिकै विस्तारित आयाम हो । एक वर्षअघि दुई ठुला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देश गएको छ । सरकारले समुन्नत नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न घरेलु नीतिमा समेत सुधारको प्रयास गरेको छ । त्यस क्रममा गृह मन्त्रालयले नीतिगत, कानुनी तथा सङ्गठनात्मक सुधारको प्रयास अगाडि बढाएको छ । सो प्रयासको परिणाम यो एक वर्षमा बहुक्षेत्रमा देखिन थालेको छ । अर्थतन्त्रमा सुधार आउन थालेको छ भने ऊर्जा उत्पादनसँगै व्यापारले सुखद सन्देश दिइरहेको छ । भारत र बङ्गलादेशमा स्वच्छ ऊर्जा निर्यातमा थप निरन्तरता पाउँदै छ । नेपालले आर्थिक विकासलाई अबका दिनमा अझै बढी प्राथमिकता दिनु आवश्यक छ । नेपाली युवा देशभित्र रोजगार पाउन नसकी ठुलो सङ्ख्यामा बाहिरिने क्रममा विराम आउन सकेको छैन । त्यसैले आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिई देशभित्र लगानी आकर्षण गरिनु वाञ्छनीय छ । नेपालले संयुक्त राष्ट्रसङ्घप्रति अटुट आस्था र विश्वास राख्दै विश्व शान्तिमा ऐतिहासिक योगदान गर्दै आएको छ । शान्ति सेनामार्फत विश्वका अनेक अशान्त भूमिमा जोखिमपूर्ण अवस्थाको सामना गर्दै राष्ट्रसङ्घीय विश्वशान्ति लक्ष्य पूरा गर्दै आएको छ । अब त्यो भूमिका र प्रभावकारिता आर्थिक कूटनीतिमा समेत रूपान्तरण गरिनु आवश्यक छ ।