सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, भदौ १५ गते । सिन्धुली जिल्लाको नवलपुर–चिसापानी रणनीतिक सडक निर्माणले गति लिन सकेको छैन । नेपाल सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजना अन्तर्गत ६८ किलोमिटर लम्बाइको नवलपुर–चिसापानी सडक पाँच वर्षअघि निर्माण सुरु गरिएको हो । निर्माण कार्यमा भएको ढिलासुस्ती र पर्याप्त बजेट अभावमा उक्त रणनीतिक सडक निर्माणको प्रगति सुस्त देखिएको छ । उक्त सडक सङ्घीय निर्वाचन क्षेत्र नं. १ को रणनीतिक सडक भएको स्थानीयले बताएका छन् । विसं २०७८ देखि नै उक्त सडकका विभिन्न खण्डमा ठेक्का लगाई काम अघि बढाइएको थियो । बिचमा पर्ने १० किलोमिटर लम्बाइको लुम्ती–बाहुनतिल्पुङ खण्डको काम अत्यन्तै ढिला भएको र जेठ अन्तिमदेखि नै निर्माणको काम रोकिएको छ ।
सङ्घीय सरकारको करिब आठ करोड रुपियाँमा लुम्ती–बाहुनतिल्पुङ खण्डको कामका लागि गौरीगणेश–अभियान–श्वेता जेभीले २०७८ फागुनमा ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको भए पनि हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ । कार्यालयका उक्त साइड हेर्ने इन्जिनियर दिपेश मुनकर्मीले उक्त खण्डको काम सुरुमा श्वेताले गरेको र श्वेताले नसकेर बिचमा नै छाडेपछि जेभीमा रहेका बाँकी अरू दुई वटा निर्माण कम्पनीले अहिले काम अघि बढाएको जानकरी दिनुभयो । उहाँले भन्नुभयो, “उनीहरूको काम पनि स्ट्रक्चर निर्माण गरी ग्राभेलसम्म गर्नेको छ, पिच गर्ने छैन । वर्षा सकिन लाग्यो, अब काम सुरु गर्छौं भनेका छन् ।”
श्वेताले छाडेपछि बाँकी दुई वटा कम्पनीले थालेको कामको प्रगति गत वर्ष राम्रो देखिएको उहाँले बताउनुभयो । उक्त जेभीको काम गर्ने सम्झौता अवधि २०८२ असारसम्म रहेकोमा छ महिना म्याद थप गरी पुस २७ गतेसम्म पु¥याएको इन्जिनियर मुनकर्मीको भनाइ छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–२, नवलपुरबाट निर्माण सुरु भएको उक्त सडकले धनुषा जिल्लाको चिसापानीलाई जोड्छ । उक्त सडक निर्माणका लागि सङ्घीय सरकार र बागमती प्रदेश सरकारले बजेट विनियोजन गरे पनि पर्याप्त नभएको र काममा पनि ढिलासुस्ती देखिएको सो क्षेत्रका बासिन्दा तथा बागमती प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री प्रदीप कटुवालले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले मुलुकभर ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को नीति अन्तर्गत एकै दिन शिलान्यास भएर ४० करोड रुपियाँ बजेट विनियोजन भई नवलपुर–चिसापानी सडक निर्माण सुरु भएको थियो । पछि गठबन्धन परिवर्तन भई अर्को सरकार बन्नेबित्तिकै यो सडक पनि ओझेलमा पर्दै गयो ।” उहाँका अनुसार उक्त सडक निर्माणका व्रmममा सङ्घ र प्रदेशको गरी हालसम्म एक अर्ब रुपियाँको हाराहारीमा खर्च भइसक्दा पनि निर्माणले गति लिन सकेको छैन । सडकको कुल लम्बाइ ६८ किलोमिटरमध्ये १५ किलोमिटर मात्रै कालोपत्रेसहित सम्पन्न भएको छ ।
प्रादेशिकमार्गमा परेर पनि बाहुनतिल्पुङ–चकमके खण्डका लागि बजेट विनियोजन नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बागमती प्रदेश सरकारको २८ करोड ७८ लाख रुपियाँको लागतमा नवलपुरदेखि लुम्तीसम्म साढे आठ किलोमिटरको खण्ड भर्खरै कालोपत्रेसहित निर्माण सम्पन्न भएको छ ।