• १४ असार २०८१, शुक्रबार

‘अफ सिजन’मा बढे पर्यटक

blog

सन्तोष राउत

सोलुखुम्बु, भदौ १९ गते । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ ।

सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि मङ्सिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । यी दुई सिजनमा पर्यटक आगमन निकै बढी हुने गर्छ । बाँकी समय अफ सिजन हो ।

यस वर्षको ‘अफ सिजन’मा भ्रमण गर्न आउने विदेशी पर्यटकमा भारत, बेलायत, स्पेन, चीनलगायतका छन् । निकुञ्जले सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार पाँच सय रुपियाँ, अन्य मुलुकका पर्यटकलाई तीन हजार 

रुपियाँ र नेपालीलाई एक सय रुपियाँ शुल्क लिने गरेको छ ।यसअघि वर्षायाममा पर्यटक आवागमन ठप्प नै हुने गरेको थियो । यस क्षेत्रमा यस वर्ष भने दैनिक १५ देखि २० जनासम्म पर्यटक प्रवेश गर्ने गरेकोे सूचना अधिकारी रोकायले बताउनुभयो । 

पर्यटक आगमन बढेकाले खुम्बुका होटल, पसल र पर्यटन व्यवसाय चलायमान बन्दै गएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

लामो समय कोरोनाका कारण घर र कोठाभित्रै सीमित बन्नु परेकाले पछिल्लो समय भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको अनुमान गरिएको छ ।