• १३ साउन २०८१, आइतबार

समान धारणा निर्माण गर्न काठमाडाैँ महानगरमा अभिमुखीकरण कार्यक्रम

blog

काठमाडौँ, भदौ १८ गते । प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

दुई दिने ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’मा नगरप्रमुख बालेन्द्र साह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो ।

‘एउटै विषयमा असमान धारणा निर्माण भयो भने त्यसले नतिजा ल्याउन चुनौती सिर्जना गर्छ, काठमाडौँ महानगरमा जनप्रतिनिधिको परिवार ठूलो भएकाले आपसी सम्बन्धलाई आत्मीय बनाउन पनि कार्यक्रम आवश्यक छ । त्यसैले अभिमुखीकरण आयोजना गरिएको हो ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले कार्यगत एकता र सहभागितामूलक विकास पद्धतिका लागि अभिमुखीकरणले योगदान गर्ने अपेक्षा गर्नुभयो । 

जनप्रतिनिधि र कर्मचारीको समान बुझाइमा जोड दिँदै प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले राजस्वमा वृद्धि तथा बेरुजु फस्र्यौटमा प्राप्त भएको उपलब्धीलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो । 


अभिमुखीकरणमा ‘सहरी सुशासन र जनप्रतिनिधि’, ‘अफिस अटोमेसन र विद्युतीय शासन’, ‘स्थानीय शासन र हाम्रा कानुन (संघ, प्रदेश र स्थानीय)’, ‘सार्वजनिक खरिद प्रक्रिया र कानुनी व्यवस्था’ विषयमा प्रस्तुतिकरण दिइएको थियो । ती विषयमा क्रमशः कृष्णहरि बास्कोटा, रोमकान्त पाण्डे, डा. चन्द्रकान्त ज्ञवाली र सुरेश प्रधानले प्रस्तुतिकरण दिनुभयो । 

यस्तै, डा. पुरुषोत्तम डंगोलले, ‘भवन निर्माण संहिता, भवन मापदण्ड एवम् सार्वजनिक निर्माण विषयमा जान्नै पर्ने कुरा’ विषयमा र डिलाराम पन्थीले, ‘स्थानीय तहमा योजना तर्जुमा’ प्रस्तुति दिनुभएको थियो ।