• १२ असार २०८१, बुधबार

राजधानीमा तीनकुनेसहित चारवटा पुल बन्ने

सञ्चालन अयोग्य टेकु र तीनकुने पुल भत्काइने

blog

काठमाडौं, भदौ १८ गते । तीनकुनेमा निर्माणाधीन रहेको पुलको लागि नयाँ ठेक्का स्वीकृत भएसँगै निर्माणको तयारी थालिएको छ । गत साउन १० गते साे पुलको जिम्मा 'वाई पि किराँतेश्वर जेभी'ले पाएको हाे । अब कम्पनीले तीन वर्ष छ महिनामा निर्माण सक्नुपर्नेछ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीका अनुसार यो पुल २५ करोड ५९ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ ।


यसअघि पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यस पुलकाे निर्माणमा लापरबाही भएपछि ठेक्का तोडिएको थियो । डिजाइन स्पेशिफिकेसनको ढाँचालाई बेवास्ता गरेको प्रमाणित भएपछि २०७१ सालमा ठेक्का लागेको पुलको सम्झौता २०७६, पुसमा तोडिएको थियो । 

ठेक्का सम्झौता तोडिएको झण्डै दुई वर्ष छ महिनापछि मात्र ठेक्का लागेको छ । पहिले निर्माण गरेको पप्पु कन्ट्रक्सनले आफूखुसी काम गर्ने गरेको र इन्जिनियरको आँखा छलेर पुल निर्माण गरिरहेको भेटिएकाले पटक पटक सचेत गराउँदा पनि नमानेपछि ठेक्का रद्द गर्नुपरेको जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘निर्माणको जिम्मा पाएको पप्पु कन्ट्रक्सनले पुल निर्माणको क्रममा लापरबाही गरेको र इन्जिनियरलाई आज काम हुँदैन भनी रातारात कमसल काम गरेको भेटिएकाले ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियामा गएका हौँ, अब निर्माणको जिम्मा पाएको वाइ पि किराँतेश्वर जनेभीले उक्त पुललाई आफ्नो डिजाइनअनुसार निर्माण गर्छ ।’’

पप्पु कन्स्ट्रक्सनलाई तिरेको बिलको रकम कटाएर उसले काम गर्न पाउनेछ । पुलको गुणस्तर जाँच गर्दा नपाइएकाले पुनः पुललाई भत्काएर कम्पनीले निर्माण गर्न पाउनेछ । 

टेकुको पुल सञ्चालन हुन कठिन 

पप्पु कन्स्ट्रक्सनले जिम्मा पाएको बागमती खोलामाथि बनेको टेकुको पुल पनि अलपत्र अवस्थामा छ । झण्डै २० करोड खर्च गरेर बनेको टेकु पुलमा प्राविधिक त्रुटि देखिएपछि केही महिनासम्म अनौपचारिक रुपमा सञ्चालनमा आए पनि रोक लगाइएको छ ।

यो पुल निर्माणका लागि जुलाई २०१६ मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो ।


कुल २० करोड २३ लाख ७५ हजार ६९२ रुपियाँ लागतमा काम गर्ने भनिएको यो आयोजनाअन्तर्गत टेकु र डल्लुमा पुल बनाउनुपर्ने सम्झौतामा उल्लेख थियो । पुल निर्माण लगभग सकिए पनि अहिले उक्त पुलमा प्राविधिक समस्या देखिएकाले पुल भत्काएर पुनः निर्माण गर्नुपर्ने अवस्था आएको उहाँले  बताउनुभयो । 


अरु तीन वटा नयाँ पुल बन्दै 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले चावहिलदेखि जोरपाटीहुँदै साँखु पुग्ने सडकखण्डमा तीन वटा पुल बनाउँदैछ । यी तीनवटै पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

मृत सञ्जिवनि जेभीले यसको जिम्मा पाएको छ । गत जेठ २४ गते २६ करोड ८९ लाखमा २०८२ साल जेठ २३ गते सक्ने गरी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।