• १२ साउन २०८१, शनिबार

‘धूमधामको घुमघाम’ मञ्चन सुरु

blog

काठमाडौँ, भदौ १८ गते । कौसी थिएटरमा नाटक ‘धूमधामको घुमघाम’को मञ्चन सुरु भएको छ। कनकमणि दीक्षितद्वारा लिखित बाल कथा शृङ्खलामा आधारित नाटकलाई आकाङ्क्षा कार्कीको निर्देशन गर्नुभएको हो। २५ वर्षअघि प्रकाशित पुस्तकमा एउटा भक्तप्रसाद नाम गरेको भ्यागुताको नेपाल भ्रमणको कथा रहेको छ। काठमाडौँको भ्यागुताले चितवन, पोखरा, मुस्ताङ हुँदै डोल्पासम्मको यात्रा गर्दा देखेका र भोगेका रोचक घटना कथामा समेटिएको छ। पुस्तक नेपाली र अङ्ग्रेजीसहित विभिन्न भाषा र ब्रेललिपिमा पनि प्रकाशित छ। 

आफूले बाल्यकालमा पढेको र मनमा गढेर बसेको पुस्तकलाई नाटकको स्वरूप दिने यात्रा उत्साहजनक रहेको निर्देशक कार्की बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “भक्तप्रसाद भ्यागुतो बाल्यकालमा यो किताब पढ्ने अवसर पाएका सबैको मनमा गढेर बसेको छ। मेरा लागि पनि यो यस्तै गढेर बसेको सम्झना हो। यो प्रख्यात बालकथा शृङ्खलालाई नाटकमा ढाल्नु मेरा लागि साह्रै उत्साहजनक अवसर रह्यो।” 

रातो बङ्गला किताब र कथा घेराको सहकार्य रहेको नाटकमा अकाश नेपाली, आशिष काफ्ले, ऋषिकेश बस्याल, कविराज राई, गणेश प्र.पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निशान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लको अभिनय रहेको छ।  आयुष निरौलाले नाट्य रूपान्तरण गरेको धूमधामको घुमघाममा स्ट्रिङ्स इम्प्याक्ट ब्यान्डको सङ्गीत रहेको छ। निर्देशक कार्कीका अनुसार मञ्च र नेपथ्य गरी लगभग ३० जनाको दुई महिनाको मेहनतले नाटक मञ्चनका लागि तयार भएको हो।

मण्डला थिएटरमा नाटक ‘२४ मा १२’ 

राजधानीको मण्डला थिएटरमा ‘२४ मा १२’ नाटक मञ्चन सुरु भएको छ। उमेश सुनामको लेखन रहेको नाटकलाई सङ्गीत सापकोटाले निर्देशन गर्नुभएको हो। २४ मा १२ हामीले जिउने दैनिक समय हो। 

नाटक दुईवटा पात्रभित्र केन्द्रित छ र त्यही पात्रको कथा नाटकभित्र दर्शाउन खोजिएको छ। हाम्रो समाजमा रहेको जातीय विभेद र लैङ्गिक विभेद जरैदेखि उखेलेर फाल्नुपर्छ भन्ने सन्देश नाटकमा देखाउन खोजिएको छ। नाटकमा समयको मारमा परेका पात्रहरूलाई चित्रण गर्न खोजिएको छ। समयको मारबाट ती पात्रहरू कसरी निस्कन सक्छन् र उनीहरूले आफ्नो समान अधिकारमा बाँच्न के कस्तो दायित्व निर्वाह गर्नुपर्छ भन्ने कुरा नाटकले बताउन खोजेको छ। 

नाटकमा राज न्यौपाने, आलोक थामी, प्रमिला खनाल, अस्मिता खनाल, सङ्गीता थापा, सञ्जित प्रताप मल्ल, उमेश सुनाम विशाल देवकोटा, सुन्दर धिताल, विशाल रिजाल, अर्जुन दुलाल, मनीषा ओझा, कृष्टिना बस्नेत, समायरा श्रेष्ठलगायतको नाटकमा अभिनय रहेको छ।