• ११ असोज २०८१, शुक्रबार

स्तनपान कक्ष नहुँदा शिशु स्याहार प्रभावित

blog

पिठ्युँमा नानी बोकेर बालबालिका पढाउँदै शिक्षिका टिकामाया राई । तस्बिर: कविराज घिमिरे

हिले [धनकुटा], भदौ १८ गते । धनकुटाको साँगुरी गढी गाउँपालिका वडा नम्बर ७ गोल खाडी माध्यमिक विद्यालयको शिक्षिका टिकामाया राई आफ्नो १७ महिने बालक सहित विद्यालय आउनु हुन्छ । विद्यालयमा शिशु स्याहार कक्ष नभएका कारण आफ्नो बच्चा बोकेरै उहाँ बालबालिका बढाउन बाध्य हुनुहुन्छ ।

विद्यालयले विद्यार्थी आकर्षित गर्न अङ्ग्रेजी माध्यमवाट पठनपाठन सुरु गरेपछि ६ बर्ष पहिले उहाँले  विद्यालयकै आन्तरिक स्रोतवाट तलब बुझ्ने गरी विद्यालयमा पढाउन थाल्नु भएको हो । तर विद्यालयमा शिशु स्याहार केन्द्र नहुदाँ उहाँलाई धेरै समस्या हुने गरेको बताउनुहुन्छ । विद्यालयमा शिशु स्याहार कक्षको बेग्लै व्यवस्था नरहेको विद्यालयका प्रधानाध्यापक हरिलाल शाहले बताउनुभयो । शिशु स्याहार कक्षको व्यवस्था थप कर्मचारी तथा सामाग्रीको व्यवस्था गर्ने पर्ने तथा सो को लागि सरकारले बेग्लै बजेट नदिने र विद्यालयको आम्दानीको श्रोत नभएका कारण सो को व्यवस्था गर्न नसकिएको शाहको भनाइ छ । “हामीले पनि महसुस त गरेको हौ तर खर्च कहाँ वाट ल्याउने बेग्लै कर्मचारी चाहिन्छ त्यसैले दुख देख्दा देख्नै पनि केही गर्ने अवस्थामा छैनौ” शाहले भन्नुभयो ।

त्यसो त यो समस्या गोल खाडी माध्यमिक विद्यालयको मात्र हैन जिल्लाका सबै विद्यालयको साझा समस्या हो । अधिकांश आमा शिक्षिकाले घरमै बालबालिका छोड्ने व्यवस्था गरेको हुन्छन् । विद्यालय लानै पर्ने अवस्था आएको सबै शिक्षिकाले बालबालिका च्यापेरै पढाउनु पर्ने अवस्था छ । धनकुटाका कुनै पनि विद्यालयमा शिशु स्याहार कक्ष तथा स्थानपन कक्ष नरहेको शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका सूचना अधिकारी देवीप्रसाद सुबेदीले जानकारी दिनुभयो । “विद्यालयले आवश्यक परे आफैँ आफ्नै खर्चमा सो स्थापना गर्न सक्छन् तर गर्नै पर्छ भन्ने कुनै बाध्यकारी नियमै छैन” सुबेदीले भन्नुभयो ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।