• १३ साउन २०८१, आइतबार

मंसिर ४ पछि एमालेको सरकार : महासचिव पोखरेल

blog

बैतडीको पाटनमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमा सहभागी हुनुभएका एमाले महासचिव शङ्कर पोखरेल । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, भदौ १६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । बिहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो दावी गर्नुभएको हो । 

मङ्सिर ४ गतेको निर्वाचनमा एमालेले बहुमत प्राप्त गरेर आएपछि पाँच दलीय गठबन्धनको सरकार विस्थापित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एमाले सरकार बनाउन एक जना कार्यकर्ताले सात वटा भोटको जिम्मा लिनुपर्छ । भोट कम भएको ठाउँमा माओवादी र समाजवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुपर्छ ।” 

मङ्सिरपछि पनि पाँच दलीय गठबन्धको सरकार बन्ने अवस्था आयो भने देशको भविश्य अन्धकार हुन्छ महासचिव पोखरेलले थप्नुभयो, “मङ्सिर ४ गतेको निर्वाचनमा मतको सुरक्षा गर्न हरेक बुथमा युवा दस्ता तयार गर्नुपर्छ ।”  

एमालेको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पु¥याउने भन्दै उहाँले मनमोहनको पालामा एक सय रुपियाँबाट सुरु भएको बृद्धभत्ता एमालेकै पालामा चार हजार पुगेको जानकारी दिनुभयो । निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले बृद्धभत्ता पाँच हजार पु¥याउने उहाँले प्रष्ट पार्नुभयो ।  

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउने शक्ति एमाले मात्र भएकाले सबै नेपाली जनतालाई एमालेको झण्डामुनि गोलबद्ध हुन आव्हान गर्नुभयो ।  

महासचिव पोखरेलले एमाले मात्रै राष्ट्रवादी शक्ति भएकाले एसपीपी सम्झौता एमालेका कारण रोकिएको दाबी गर्नुभयो । गठबन्धन सरकारले देश र जनताका लागि काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुच्चे नक्सा संसदबाट पास भएर आएपछि अहिलेको सरकारले चुच्चे नक्सा हटाउँदै हिँडेको आरोप पनि उहाँले लगाउनुभयो ।    सुदूरपश्चिमको विकासका बारेमा बोल्दै महासचिव पोखरेलले महाकाली करिडोर, मध्यपहाडी लोकमार्गको सुरुवात र सुदूरपश्चिमका आठ वटा विमानस्थल कोलोपत्रेको काम एमालेको पालामा भएको दाबी गर्नुभयो । 

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादीबाट ६० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालले जानकारी  दिनुभयो ।