• ११ असोज २०८१, शुक्रबार

धनकुटाबाट थापा सर्वसम्मत सिफारिस

blog

कबिराज घिमिरे

धनकुटा, भदौ १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । 

केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहनुभएका थापालाई एक मात्र निर्वाचन क्षेत्र रहेकाे धनकुटामा नेपाली कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।

तत्कालीन राप्रपाका नेता थापालाई २०७४ सालको निर्वाचनमा समेत नेपाली कांग्रेसले सहयोग गरेको थियो तर सो निर्वाचनमा थापा एमाले नेता राजेन्द्र राईसँग पराजित हुनुभएको थियो ।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा तत्कालीन राप्रपाको तर्फबाट धनकुटा २ बाट निर्वाचित हुनुभएको थियो । उहाँ सुशील कोइराला प्रधानमन्त्री हुँदा वाणिज्य तथा आपूर्ति र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भइसक्नु भएको छ ।

पिता सूर्यबहादुर थापाको मृत्युपश्चात् राप्रपाको राजनीति त्यागेर उहाँ २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।