• १३ साउन २०८१, आइतबार

दशैँ अगावै अवरुद्ध सडक सञ्चालन गरिँदै

blog

पानीले बिग्रिएका सडकको मर्मत कार्य गर्दै । तस्बिर– शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ १६ गते । हिमाली गाउँपालिकाले वर्षामा अवरुद्ध हुँदै आएका ग्रामीण सडक दसैँ अगावै सञ्चालनमा ल्याउने भएको छ ।

हिमाली गाउँपालिकाका अधिकांश ग्रामीण सडक वर्षामा बाढी र पहिरोले अवरुद्ध हुँदै आएका थिए ।

हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले, स्थानीयकै मागअनुसार गाउँमा निर्माण गरिएका ती ग्रामीण सडक बिग्रिएपछि अहिले ती सडकको मर्मत कार्य सुरु गर्दै दसैँ अगावै सञ्चालनमा  ल्याउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, हिमाली गाउँपालिकाका सात वडा मध्य अधिकांश वडा सडकको पहुँचमा रहेका छन् । भने बाँकी रहेका वडामा समेत यो वर्ष सडक पु¥याउने लक्ष्य राखेको बताउनुभयो ।

अधिकृत भण्डारीका अनुसार, मार्तडी कोल्टी सडक बर्खामा बन्द भए पनि कोल्टीदेखि हिमालीको धुलाचौरसम्म गाडी निरन्तर चल्ने गरेका हुन् । पानीले हिमालीको धुलाचौरदेखि गाउँ बस्तीका चल्ने केही सडक भने पानीले बिगार्दै आएपछि बन्द भएका थिए । 

हिमाली गाउँपालिका वडा नं. –४ का स्थानीयको स्याउ र ओखरलाई बजारसम्म ढुवानी गर्न सहज हुने गरी १५ किलोमिटर सडकलाई पहिलो  प्राथमिकतामा राखिएको छ । त्यो सडकलाई यो वर्षमा बीस लाख रकम विनियोजन पनि गरेको छ । यो सडकलाई बहुवर्षीय योजनाको रूपमा लैजाने भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले, विगतका पाँच वर्षमा खानेपानी, स्वास्थ्य शिक्षा, कृषि, सडक ठूलो परिवर्तन ल्याएका थियौँ । अबका पाँच वर्षमा पनि यी विषयलाई नै प्राथमिकता दिएर काम गर्ने योजना रहेको बताउनुभयो ।