काठमाडौँ, भदौ १४ गते । तीजको मुखमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । तीजमा ताजा हरियो तरकारीको माग बढेको तर उत्पादन घटेकाले तरकारीको मूल्य वृद्धि भएको हो ।
गत सातासम्म प्रतिकेजी ७०–७५ रुपियाँ थोक र ९० रुपियाँ खुुद्रा मूल्य रहेको स्थानीय काउली तीजसम्म आइपुुग्दा थोकमा १३० रुपियाँ र खुद्रामा दोब्बरभन्दा बढीले महँगिएको छ ।
देशकै ठूलो तरकारी बजार कालीमाटीमा थोकमा प्रतिकेजी स्थानीय काउली १२० रुपियाँसम्म कारोबार भएको छ भने त्यही बजारमा खुद्रामा १८० रुपियाँ प्रतिकेजीमा किनबेच भइरहेको छ । सो बजारमा एक साताअघि स्थानीय काँक्रो प्रतिकेजी ७०–७५ रुपियाँमा बिक्री भएकामा अहिले बढेर थोकमै १४० रुपियाँ पुगेको छ । खुद्रामा त प्रतिकेजी दुई सय रुपियाँ पुगेको छ ।
चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, गाँजर, घिउ सिमी, काँक्रोलगायतका तरकारीको मूल्य वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् ।
कालीमाटी तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले तीजमा बढी खपत हुने काउली, साग, काँक्रो, च्याउ, सिमी, तामा, आलु, गोलभेँडाबाहेकका अन्य मौसमी तरकारीको मूल्य थोकमा सामान्य रहेको बताउनुुभयो ।
“यस पटक बजारमा मानिसको चहलपहल बाक्लै बढ्नु साथै महिलाको महापर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस भरिभराउ भएकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको छ,” आचार्यले थप्नुुभयो ।
पसलैपिच्छे फरक मूल्यमा तरकारी बिक्री हुँदा उपभोक्ता मर्कामा परेका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले पसलैपिच्छे तरकारी र फलफूलको भाउ फरक हुँदा पनि यसको सरकारी निकायबाट अनुगमन हुुन नसक्नुु विडम्बना हो भन्नुभयो ।
बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने गत सातादेखि नै ठाउँठाउँमा रहेका तरकारी र फलफूलको मूल्य अनुुगमन गरेर कारबाहीसमेत गर्दै आएको जनाएको छ । विभागका अनुसार गएको साता मात्रै तरकारी र फलफूलका खुद्रा पसल अनुगमन गरी कारबाही गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको तरकारी थोक मूल्यमा गाँजर प्रतिकेजी १३० रुपियाँ, भिन्डी प्रतिकेजी ५० रुपियाँ, घिउ सिमी (राज्मा) १३० रुपियाँ, च्याउ कन्ये प्रतिकेजी १८० रुपियाँ, च्याउ डल्लो प्रतिकेजी ६६० रुपियाँ, तामा प्रतिकेजी १३० रुपियाँमा किनबेच भइरहेको छ ।
समितिका अनुसार शनिबार झन्डै सात सय मेट्रिक टन तरकारी कालीमाटी बजारमा भित्रिएको थियो । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएका बेला आयात केही घटेकाले भाउ महँगिएको बताउनुुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ ।
समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछ ।
यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ । उहाँका अनुसार यो मौसममा आलु र प्याजमा भने भारतकै भर पर्नुपर्ने हुन्छ ।