• १३ साउन २०८१, आइतबार

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

blog

कालीगण्डकी करिडोरमा गएको पहिरो । तस्विर -तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ १३ गते । दुई दिनदेखि परेको अविरल वर्षासँगै पहिरोका कारण कालीगण्डकी काेरिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट सडकको बीच बीचमा सात वटा पहिरो खसेका कारण काेरिडोर अवरुद्ध भएको हो ।

आइतबार राति गएको पहिरोका कारण गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सेवा लिन जाने सेवाग्राहीहरु वञ्चित भएका छन् ।  सडक अवरुद्ध हुँदा हर्मिचौर, अर्वेनी, जयखानीका सेवाग्राहीहरु गाउँपालिकाबाट सेवा लिन वञ्चित भएका छन् ।

निरन्तर पानी आइरहेकाले पहिरो पन्छाउन लागि समस्या भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो ।

पहिरो पन्छाउनका लागि डोजरले काम गरिरहेको भन्दै तीजको समयमा सडक अवरुद्ध नगराउनका लागि आफू लागि परेको उहाँको भनाइ छ ।

नेपाली सेनाले बम विष्फोटन गरेर खोलेको कालीगण्डकी काेरिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा सामान्य पानी परे पनि  पहिरो खस्ने समस्याले विगतदेखि नै आफूहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गुनासो गर्नुभयो ।

पहिरोका कारण पुुर्तिघाटदेखि बुटवलसम्म छुट्ने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्ने गरेका छन् । तीजको समयमा काेरिडोर अवरुद्ध हुँदा समस्या भएको स्थानीयहरुले बताएका छन् । 

कालीगण्डकी काेरिडोर गैडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले पहिरो पन्छाउनका लागि गाउँपालिकासँग समन्वय गरेर अगाडि बढिरहेको बताउनुभयो ।