• १२ असार २०८१, बुधबार

आकर्षणको केन्द्र छ्योत छ्योत झरना (फोटो फिचर)

blog

छ्योत छ्योत झरना, तस्विरहरु – सुजन काफ्ले

सुजन काफ्ले 

चरीकोट (दोलखा), भदौ १३ गते । प्राकृतिक सौन्दर्यतासँगै अग्ला पहाडबाट झरेको आकर्षक झरना, वरिपरि हरियाली वनजङ्गल, चराचुरुङ्गीको चिरबिर चिरबिर र छ्योत छ्योत झरनाको छमछम आवाजमा मोहित बन्न पुग्छन् सबै पर्यटकहरु ।

दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने यो झरनाको दृश्यावलोकन गरेपछि सबैलाई प्रकृतिका छटामा डुबुल्की मार्ने मन जोकोही हुन्छ । तर यसको दृश्यावलोकन गर्ने र फाटो खिच्ने ठाउँ विगु गाउँपालिका वडा नम्वर १ लामाबगरको छ्योत छ्योत हो ।


वर्षायाममा झरनाको पानी सडकसम्मै आइपुग्छ । सडक मार्गको  छेवैमा पर्ने भएकाले त्यो सडक हुँदै आवतजावत गर्ने अधिकांश पर्यटक एकछिन रोकिएरै झरनाको मज्जा लिन पुग्छन् । कोही यही झरनासँगै सेल्फी खिच्ने तथा टिकटक बनाउने गर्दछन् ।

अहिले यो झरनामा बनाइएका भिडियो तथा फोटोहरु टिकटकमा भाइरल समेत बनेका छन् । विभिन्न जिल्लाबाट आएका आन्तरिक तथा बाह्य पर्यटक मात्र नभई यही जिल्लाका विभिन्न ठाउँका स्थानीय बासीसमेत यस झरनासम्म आउने गरेको स्थानीयको भनाइ छ ।


स्थानीयका अनुसार झरनाको प्राकृतिक सुन्दरता नियाल्न तथा झरनासँग रमाउनका लागि दैनिक सयौं जनाको हाराहारीमा पर्यटकको आगमन हुने गरेको छ । चाडपर्व र विदाको दिनमा झरनामा पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ ।

झरनासँग मज्जा लिनको लागि मौसमअनुकुल नहुँदानहुँदै सदरमुकाम चरिकोटबाट यहाँ आइपुगेको पुष्कर अधिकारीले बताउनुभयो । त्यस्तै, नवराज अर्यालले झरना आइपुग्दा आनन्दले मन फुरुङ्ग भएको बताउनुभयो ।

सिंगटी बजारसम्मको सडक सहज भए पनि झरनासम्म आइपुग्ने सडक सकसपूर्ण रहेकाले सडक मर्मत गरेर आवतजावतलाई सहज बनाउनुपर्ने अर्यालको भनाइ रहेको छ । यहाँ आइपुगेपछि फर्किनै मन नलागेको र झरनासँगै रमाइराख्ने चाहना भएको अर्याल बताउनुहुन्छ ।

यहाँ उहाँहरूजस्ता सयौं युवकयुवतीको भिडभाड छ । झरना हेर्नका लागि कोही मोटरसाइकलमा त कोही बोलेर तथा बस रिजर्भ गरेरै पनि आउने गरेका छन् । कोरोनाले केही वर्ष सुनसान बनाएको यो झरना अहिले दैनिक पर्यटक आगमन वृद्धि भइरहँदा यहाँका होटलमा ग्राहकको बाक्लो उपस्थिति हुने गर्दछ ।