• १३ साउन २०८१, आइतबार

दोस्रो पटक चैते धान थन्क्याइँदै

blog

अविनाश चौधरी

धनगढी, भदौ १२ गते । कैलालीको बाढी, डुबान प्रभावित क्षेत्रका किसानले यस वर्ष लगाएको चैते धान दोस्रोपटक भित्र्याइरहेका छन् । 

मध्यअसारमा पहिलो पटक चैते धान काटेका किसानले डेढ महिनापछि दोस्रो पटक बाली भित्र्याइरहेका हुन् । पहिलो पटक काटेकै बोटमा नयाँ पालुवा पलाएर फेरि धान फलेपछि भित्र्याउने काम गरिरहेको भजनी नगरपालिका–३, पकरियापुरका बुद्धिराम चौधरीले बताउनुभयो । उहाँका अनुसार बाढीले नबिगारेका कारण यस वर्ष चैते धानखेती गरेका किसानलाई दोस्रो पटक पनि धान भित्र्याउने अवसर प्राप्त भएको हो । 

कैलालीको भजनी नगरपालिकाका किसान चैते धानमा निर्भर छन् । बाढी डुबान समस्याका कारण बर्खे धानबाली नहुने भएकाले धेरैजसो किसानले चैते धान नै लगाउने गरेका छन् । चैते धान लगाएका सो नगरपालिकाका किसानले यस वर्ष दोस्रो पटक बाली भित्र्याउन पाएपछि खुसी छन् । 

यस वर्ष दुई पटक धान काट्न पाउँदा खुसी लागेको ढुसीगाउँका कृषक चुन्नीराम चौधरीले बताउनुभयो । डेढ बिघा जमिनमा चैते धानखेती गरेका चुन्नीरामले भन्नुभयो, “पहिलो बाली असारमा भित्र्याएको थिएँ । दोस्रो पटक साउन अन्तिममा धान काटेका छौँ ।” 

बाढी नआए दोस्रो, तेस्रो पटकसम्म बाली भित्र्याउन मिल्ने गरेका कारण चैते धानखेती गरेर गुजारा गर्न सहज भएको किसानको भनाइ छ । “बर्खे धानको खेती त थोरै मात्र हुन्छ । त्यो पनि बाढी आए सखाप हुन्छ तर चैते धान बाढी आउनुअगावै भित्र्याउन मिल्छ । जोगियो भने दोस्रो, तेस्रो पटक पनि उत्पादन लिन सक्छौँ,” बुद्धिरामले भन्नुभयो । परार साल तीन पटकसम्म चैते धान काटेको उहाँले स्मरण गर्नुभयो । 

किसानका अनुसार पहिलो पटक चैते धान काटिसकेपछि केही पनि गर्नु पर्दैन । सक्नेले अलिअलि मल हाल्छन् । त्यत्तिकै छोडे पनि केही दिनभित्रै नयाँ पालुवा पलाएर बाला लाग्ने गर्छ । “चैते धान रोपाइँ गर्दाको बखत मात्रै बढी लगानी लाग्ने गर्छ, एक पटक धान काटिसकेपछि केही गर्नुपर्दैन । बाढीबाट जोगियो भने एक/दुई महिनामा दोस्रो पटकका लागि धान तयार हुने गर्छ,” पकरियापुरका कृषक अट्वारी चौधरीले भन्नुभयो ।

खास गरेर वडा नं. ३ र ८ मा किसानले बढी चैते धानखेती गर्ने गरेका भजनी नगरपालिकाका कृषि शाखाका प्राविधिक सहायक कमल चौधरीले बताउनुभयो । उहाँका अनुसार भजनीमा छ सय हेक्टरजतिमा चैते धानखेती हुँदै आएको छ । 

वडा नं. ३ को ढुसी, पकरियापुर, थेकी, जवलपुर, कन्हैयापुर र वडा नं. ८ को सोनहाफाँटा, कृष्णनगर, काँढाढिक, खैरा, गोरचौरामा बढी चैते धान खेती गरिएको छ । 

चैते धानखेती गर्ने किसानलाई प्रोत्साहनका लागि गत वर्षदेखि मुख्यमन्त्री कृषि कार्यक्रम पनि लागू गरिएको छ । सो कार्यक्रममार्फत किसानलाई बीउबिजन र उपकरण ५० प्रतिशत अनुदानमा प्राप्त हुने गरेको कमल चौधरीले जानकारी दिनुभयो । “जे होस् बाढी, डुबान क्षेत्रका किसानलाई चैते धानखेतीले ठूलो सहयोग भएको छ,” उहाँले भन्नुभयो ।